Shittalpati
पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकलाई प्राविधिक ज्ञान

हाम्रा संवाददाता
पाल्पा । व्यवसायिक सुन्तला खेती पछिल्लो समय आम्दानीको मुख्य स्रोत बन्दै आएको छ । फलफूल जातको रुपमा रहेको सुन्तला मुख्य नगदेवालीका रुपमा स्थापित हुँदै आम्दानीको राम्रो स्रोत बने पनि प्राविधिक ज्ञानको अभावका कारण यसले उचित ठाउँ पाउन भने सकेको छैन । व्यवसायिक सुन्तला खेतीतर्फ धेरै कृषकहरुको आकर्षण बढे पनि यसको प्राविधिक ज्ञान नहुँदा वर्षेनी कृषकहरुले नोक्सानी बेहोर्दै आएका छन् । आधुनिक प्रविधिको प्रयोग र ज्ञानको अभावमा नोक्सानी बेर्होन बाध्य भएका कृषकहरुलाई सुन्तला जात फलफुल विकास केन्द्र पाल्पाले भने प्राविधिक ज्ञान सहितको प्रयोगात्मक तालिम दिएको छ । व्यवसायिक सुन्तला खेतीका लागि उर्वर भूमि मानिने पाल्पा र गुल्मीका व्यवसायिक सुन्तला कृषकहरु र नर्सरी सञ्चालकहरुलाई केन्द्रले प्रयोगात्मक तालिम दिएको हो ।

सुन्तलाको व्यवसायिक रुपमा खेती गर्दा अपनाउनु पर्ने विधि प्रक्रियाका विषयमा तालिम दिइएको थियो । सुन्तलाको व्यवसायिक खेती गर्दै नर्सरी व्यवस्थापन गरेका २० जना कृषक तथा नर्सरी सञ्चालकहरुलाई नर्सरी व्यवस्थापन, बिउको छनोट कलमी कसरी बनाउने भन्ने विषयमा प्रयोगात्मक तालिम दिइएको केन्द्रले जनाएको छ । कृषकहरुलाई प्रविधिको प्रयोग गरी थप सीप उपलब्ध गराउने उद्देश्यले प्रयोगात्मक तालिम दिइएको हो । तालिममा बिजु, बिरुवा, कलमी कसरी बनाउने र नर्सरीको व्यवस्थापन गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाका विषयमा ज्ञान सहित प्रयोगात्मक तालिम प्रदान गरिएको थियो । चिसो मौसम भनेको सुन्तला जातका फलफूलको बिरुवा, नर्सरी बनाउने समय भएकाले पनि उनीहरुलाई प्राविधिक ज्ञानको प्रयोगात्मक अभ्यास गराइएको तालिमका मुख्य प्रशिक्षक तथा सुन्तला जात फलफूल विकास केन्द्रका प्रमुख बमबहादुर थापाले बताए । व्यवहारिक र प्रयोगात्मक अभ्यास भएकाले तालिम निकै फलदायी भएको तालिममा सहभागी पाल्पा रामपुरका कृषक दिलबहादुर थापा बताउँछन् ।

पाल्पा र गुल्मीमा १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला जात फलफुलको व्यवसायिक खेती हुँदै आएको छ । यस खेतीतर्फ प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ८ हजार कृषक परिवारले सुन्तला जात फलफूललाई मुख्य जीविकोपार्जनको माध्यम बनाउँदै आएका छन् । सुन्तला जातको फलफुलको खेती परम्परागत भएपनि तलिममा बिउको व्यवस्थापन, कलमी के हो ? कसरी गर्ने ? जस्ता विषयमा प्रयोगात्मक तालिमले निकै सहयोग पुगेको व्यवसायिक रुपमा सुन्तला जातको खेती र नर्सरीको व्यवस्थापन गर्दै आएका गुल्मी धुर्कोटका कृषक चन्द्रबहादुर विकले बताए । पाल्पाकी महिला अगुवा कृषक भगवती न्यौपानेले पनि तालिममा प्रयोगात्मक अभ्यास बढी भएकाले आफुहरुलाई व्यवसायिक सुन्तला खेती गर्नमा महत्वपूर्ण टेवा पुग्नेमा आफु विश्वास रहेको बताइन् ।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update