Shittalpati
परोपकारमा तानसेन गुठी

रामचन्द्र रायमाझी
पाल्पा । जन्मभूमी तानसेन, पाल्पाबाट काठमाडौंमा रहेर विभिन्न पेसा र व्यवसाय गर्दै आएका व्यक्तिहरु संगठीत संस्था हो तानसेन गुठी । तानसेनवासीहरुको सहयोगमा वि.सं. २०५० मा स्थापना भएको गुठी धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको छ । गुठीले तानसेनको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विस्तारमा सहयोगी भूमिका खेल्दै आएको छ । त्यत्ति मात्र होइन कोरोना महामारीका बेला भोक भोकै बस्न बाध्य मजदुरहरुको उद्दारमा होस् वा, आर्थिक अभावमा स्वास्थ्य उपचार नपाएर मृत्युसँग लडिरहेकाहरुको उद्दारका लागि किन नहोस् तानसेन गुठी सधैँ सहयोगीदाताका रुपमा क्रियाशील देखिन्छ । गुठीले तानसेनमा पनि शाखा गठन गरेर काम गर्दै आएको छ । काठमाडौं तथा विदेशमा रहेका तानसेनवासीहरुबाट रकम संकलन गरी तानसेन गुठी काठमाडौंले तानसेन शाखाको समन्वयमा परोपकारी काम गर्दै आएको हो । कोरोना महामारी नियन्त्रणका लागि लामो समयदेखि सरकारले गरेको लकडाउनका कारण तानसेनमा दैनिक मजदुरी गरी जीविकोपार्जन गर्दै आएका मजदुरीहरुका लागि गुठीले यस अघि खाद्यान्न सहयोग गरेको थियो । तानसेनका सयौं विपन्न परिवार, ज्याला मजदुरी गरी दैनिक छाक टार्न समस्या परेका परिवारहरुका लागि राहत वितरण गरेर परोपकारी काम गरेको भन्दै तानसेनवासीले त्यस कार्यको प्रंशसा गरेका थिए । गुठीले तानसेन नगरपालिकाको कोरोना राहत कोषमा एक लाख रकम जम्मा गरेको थियो ।

मंगलबार पनि गुठीले तानसेन शाखाको समन्वयमा मन्दिर निर्माण, ऐतिहासिक भगवती जात्राका बेला रथ बोक्ने कुमाल र औषधी उपचारका लागि एक जना विरामीलाई सहयोग गरेको छ । गुठीका केन्द्रीय अध्यक्ष सर्जुमान लिगलले काठमाडौंमा रहेका सदस्यहरुसँग संकलन गरी उठाएको रकम तानसेन गुठीले सहयोग गरेको हो । एक कार्यक्रमको आयोजना गरी गुठीले तानसेन २ को फूलबारीमा रहेको हनुमान मन्दिरको पुनर्निर्माण र सकल सिद्धि गणेश भगवान तथा नवग्रह मुर्ति स्थापनाका लागि एक लाख ९१ हजार ५ सय २२, रथ बोक्ने ४४ जना कुमाल युवाहरुलाई ७२ हजार ७ सय बराबरको खाद्यान्न र तानसेनका पारसरत्न बज्राचार्यको स्वास्थ्य उपचारका लागि २३ हजार आर्थिक सहयोग गरेको छ । मन्दिर निर्माणका लागि प्राप्त रकम तानसेन २ का वडा अध्यक्ष बरुण रेग्मी, पारसरत्न बज्राचार्यको स्वास्थ्य उपचारका लागि प्राप्त रकम उनको परिवारलाई प्रदेश सांसद पुरमान बज्राचार्य, गुठीका केन्द्रीय अध्यक्ष सर्जुमान लिगलले हस्तान्तरण गरेका थिए ।

त्यस्तै भगवती जात्राका बेला रथ बोक्ने कुमाल समुदायका युवाहरुलाई भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय, गुठी तानसेन शाखाका पूर्वअध्यक्ष सर्जुलाल बज्राचार्य, गुठीका कार्यवाहक अध्यक्ष सुशिल प्रधान लगायत वडा र गुठीका सदस्यहले खाद्यान्न वितरण गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै प्रदेश सांसद बज्राचार्यले तानसेनको सामाजिक, धार्मिक, साँस्कृतिक क्षेत्रको विकासमा गुठीले गर्दै आएको सहयोग प्रशंसनिय रहेको बताए । उनले तानसेनको ऐतिहासिक जात्रालाई निरन्तरता दिन कुमाल समुदायका युवाहरुलाई अनुशासनपूर्व लाग्न पनि आग्रह गरेका छन् । गुठीका केन्द्रीय अध्यक्ष लिगलले कर्मथलो काठमाडौं लगायत बाहिर भएपनि जन्म थलो तानसेनको अत्यन्त माया लाग्ने भएकाले पनि आफुहरु तानसेनको विकासमा सक्रिय भएर लाग्दै आएको बताए । वडा अध्यक्ष रेग्मीले स्थानीय सरकारले गर्नुपर्ने काम गुठीले गर्दै आएको भन्दै आगामी दिनमा स्थानीय सरकार र गुठी एक आपसमा समन्वय गरेर जानुपर्नेमा जोड दिए । भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उदयले धार्मिक, साँस्कृतिक सम्पदाहरुको संरक्षणमा गुठीले देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update