Shittalpati
माथागढीका विद्यालयमा सेनेटरी प्याड वितरण

पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाले १४ वटा सामुदायिक विद्यालयका छात्राहरुको लागि महिनावारी व्यवस्थापन गर्न सेनेटरी प्याड उपलब्ध गराएको हो । १० मा‍वि र ४ आधारभूत तहका सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गर्ने सेनेटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको शिक्षा शाखाले वडा नं ४ को रत्न माध्यमिक विद्यालयबाट सेनेटरी प्याड वितरण सुरु गरेको थियो । महिनावारी अवधिमा कक्षा छाड्न नपरोस् भनेर हरेक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष तथा सेनेटरी प्याड वितरण अनुगमन समितिका संयोजक निर्मला भट्टराईले बताईन् ।

‘विद्यालयमा हुँदा महिनावारी भएर कक्षा छाड्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ’, उनले भनिन्, ‘महिनावारी व्यवस्थापनका लागि सघाउ पुर्‍याउन र छात्राले पूरा कक्षा बस्न सक्ने बनाउन सेनेटरी प्याड उपलब्ध गराउदै आएका हौं ।’ हरेक विद्यालयका शिक्षिकामार्फत महिनावारीबारे छात्रालाई परामर्श तथा प्याड वितरण र व्यवस्थापन गर्ने उनले जानकारी दिईन् । महिनावारीको बेला छात्राहरुलाई सरसफाइको झनै आवश्यकता पर्ने भएकाले स्वास्थ्य समस्या कम गर्न यसले सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक केशव जि‍सीले बताए । अहिलेसम्म १४ ओटा सामुदायिक विद्यालयहरुमा अध्ययन गर्ने एक हजार ३ सय ३५ छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको शिक्षा शाखाका संयोजक गजेन्द्र पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update