Shittalpati
पाल्पामा संसद् विघटनको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

पाल्पा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट भातृ संगठनहरुले संसद् विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रधानमन्त्रीको कदम गैरसंवैधानिक भएको भन्दै तरुण दल, महिला संघ, दलित संघ, नेविसंघ लगायतका संगठनहरुले तानसेनको आन्दोलन चोकमा पुत्ला दहन गरेका हुन् ।

आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा उनीहरुले सोमबार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी भएको ठहर गरेका छन् । विरोधमा सहभागीहरुले प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको जति भत्र्सना गरेपनि कमी हुने बताए । उनीहरुले प्रतिनिधिसभा विघटनकै कारण मुलुकलाई ठूलो दुर्घटनातर्फ धकेलेको समेत आरोप लगाएका छन् ।

तानसेनको आन्दोलन चोकमा भएको सभा पछि प्रधानमन्त्रीको पुत्ला जलाइएको हो । विरोध सभामा नेपाली काँग्रेसका जिल्ला सचिव झपेन्द्र गहिरे, नेपाल महिला संघकी सचिव सुनिता अधिकारी, नेपाल तरुण दलका जिल्ला सभापति मेजर सिं केसी, नेपाल विद्यार्थी संघका कार्यवाहक जिल्ला सभापति सुरेस बोहोरा लगायतले प्रधानमन्त्रीले संसद विघटनका लागि सिफारिस गर्नु र राष्ट्रपतिले त्यसलाई स्वीकार गर्नु असंवैधानिक भएको बताएका छन् । उनीहरुले प्रस्ताव तत्काल खारेज गर्न समेत माग गरेका छन् । आफुहरुको मागलाई सरकारले वेवास्ता गरे चरणवद्ध आन्दोलन गर्न बाध्य हुने उनीहरुले चेतावनी दिएका छन् । संसद् विघटनको विषयलाई लिएर पाल्पा सहित देशभर विरोध चर्केको छ । सत्तापक्ष र विपक्षबाटै यसको कडा विरोध भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधामन्त्रीको सिफारिसमा आइतबार प्रतिनिधिसभा विघटन गरेकी हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्न गरेको प्रस्तावलाई राष्ट्रपतिले जस्ताको त्यस्तै स्वीकृत गरेपछि विरोध भएको हो ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update