Shittalpati
गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, चार घाइते

गुल्मी । गुल्मीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । अटो दुर्घटनामा दुई जना र ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका १३ दुविचौरमा शुक्रबार राति भएको अटो दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । गौडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक रेसुङ्गा नगरपालिका–१२ का तेजबहादुर राना र रेसुङ्गा नगरपालिका २ का १८ वर्षका सुरज विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक रानाको घटनास्थलमा र विकको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् । अटोमा सवार घाइते तीन जनामध्ये २ जनाको गुल्मी अस्पताल र एक जनाको पाल्पामा उपचार भइरहेको छ । अटो अनियन्त्रित भइ सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस्तै गुल्मीको चन्द्रकोट गाउँपालिका–८ सल्यारामा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । सल्यारा कच्ची सडक खण्ड विस्तार गर्ने क्रममा ढुङ्गाले लागेर ५ वर्षीय जस्मिन रानाको मृत्यु भएको हो । लु १ क २३६२ नम्बरको जेसिबीले झुमा सल्यारा कच्ची सडक खण्ड विस्तार गर्ने क्रममा ढुङ्गा फाल्दा ति बालिकालाई लागेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढुाले लागेर अर्को एक जना घाइते भएका छन् । जेसिबीले फालेको ढुङ्गाले लागेर ७ वर्षीय निर्जला कुमाल घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर पठाएको जनाइएको छ । घर नजिकै अमला टिप्न गएका ति बालिकालाई ढुङ्गाले लागेको थियो । –अनिल खत्रीबाट

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update