Shittalpati
माथागढीमा रहवास र बहादुरपुर जोड्ने पक्की पुलको शिलान्यास

पाल्पा । जिल्लाको माथागढी गाउँपालिका ७ रहवास र ८ बहादुरपुरको सीमानामा पर्ने अरूण खोलाको ताकातुङ्गमा पक्की पुल निमार्ण हुने भएको छ । पक्की पुलको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको लगानीमा रहबास हुँदै बहादुरपुर जोड्ने सडकको ताकातुङ्गमा पक्की पुल बन्न लागेको हो । पुल बनेपछि रहवास र बहादुरपुरका स्थानीयवासीहरूलाई सहज हुनेछ । पुल निर्माणका लागि प्रदिप कन्ट्रकसन रूपन्देहीसँग २०७८ जेठ ३१ गतेसम्म निर्माण गर्ने गरी ४ करोड १ लाख रुपैयाँमा ठेक्का सम्झौता भएर काम शुरु भएको हो ।

पुलको शिलान्यास गर्दै मन्त्री चौधरीले ताकातुङ्गमा पुल निर्माणमा निर्माण व्यवसायीलाई बाधा हुन नदिन स्थानीयहरुले सहयोग गर्नुपर्ने बताए । प्रदेश सभासद् नारायण आचार्यले यस क्षेत्रका जनताको लामो समयदेखिको पुल निर्माणको आकांक्षा प्रदेश सरकारले पूरा गरेको बताउँदै पुल निर्माण शुरु भएसंगै स्थानीयहरु उत्साहित भएको बताए । प्रदेश सभाषद् रमा घर्तीले जनताको आवश्यकता पुलले पूरा गरिदिने बताए । माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले यस क्षेत्रका जनताको वर्षौदेखिको आवश्यकता अहिले आएर पूरा हुन लागेको बताए । पुल निर्माण हुने भएपछि स्थानीयहरु खुसी भएका छन् । पुल शिलान्यास कार्यक्रम जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख मीरा मरासिनीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update