Shittalpati
पर्यटकीय गन्तव्यहरुको खोजी गर्दै रिब्दीकोट गाउँपालिका

कृष्ण पोखरेल

पाल्पा । जिल्लाको रिव्दीकोट गाउँपालिकाले ८ वटै वडाहरुका पर्यटकिय गन्तव्यहरुको खोजी गरेको छ । ऐतिहासिक, पुरातात्विक, खेलकुद तथा कृषि कला संस्कृति लगायतका विविध विषयवस्तुमा आधारित रहेर गाउँपालिकाले पर्यटकिय गन्तव्यहरुको खोजी गरेको हो । पहिचान गरिएका पर्यटकिय गन्तव्यहरुको दस्तावेजीकरण गर्दै गाउँपालिकाले आवश्यक पुर्वाधार निर्माण गर्दै पर्यटकहरुका लागि सहज बनाउने भएको छ । गाउँपालिकाले एक दुई व्यक्ति वा संस्थालाई भन्दा सामुहिकतामार्फत विविध पक्षहरुलाई समेट्दै पालिका स्तरीय पर्यटकीय गन्तव्यहरुको पहिचान गरेको हो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर रिव्दीकोट गाउँपालिकालाई चिनाउने पर्यटकीय गन्तव्यहरुमा खुला लेख रचना प्रतियोगितामार्फत पहिचान गरेको हो । विभिन्न प्रतियोगिहरुले हाल प्रचार–प्रसारमा रहेका पालिकाका पर्यटकीय गन्तव्यहरु, हालै चर्चामा रहेका पर्यटकीय स्थलहरु, आगामी दिनमा सम्भावना भएका पर्यटकीय गन्तव्यहरुको पहिचान गरिएको छ ।

गाउँपालिकालाई चिनाउने पर्यटकीय गन्तव्यहरुको लेख रचनामा रामबहादुर विक (आरवी निश्चल प्रथम नगद १० हजार,पालिकाका प्रवक्ता विष्णु प्रसाद खनाल द्धितिय ८ हजार नगद, राम ज्ञवाली तृत्तिय ७ हजार र रुद्ध्र आचार्य सान्तवना २ हजार पुरस्कारबाट सम्मानित भए । पुरस्कृत व्यक्तिहरुलाई पूर्व जिविस सभापती झपेन्द्र बहादुर जिसी, गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, प्रतियोगिता मूल्याङकन समितिका बुद्धि प्रसाद शर्मा लगायतले सम्मान गरेका थिए । कार्यक्रममा पूर्व जिविस सभापती जिसीले पर्यटन भनेको पैसा भएकाले आफै कसिएर काम गर्नुपर्ने बताए । उनले भने ‘हामीलाई प्रकृतीले उपहारै उपहार दिएको छ, हामी बिच विविधताले भरिएको कला संस्कृती छ, हामी बिच धार्मिक एकता छ यस्ता विषयबस्तुलाई व्यवस्थापन गरी प्रचार प्रचार गरेर घरमै बसी बसी प्रशस्त आम्दानी गर्न सकिने छ ।’

नेपाल रेडक्रस सोसाईटीका सभापती बृद्धि प्रसाद शर्माले रिव्दीकोट नाम बाटै पर्यटकीय गन्तव्यको शुरुवात भएकाले प्रतियोगिहरुबाट आएका लेख रचनाहरुलाई सम्पादन गरी पुस्तकको रुपमा प्रचार प्रसार गर्नुपर्ने बताए । ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले प्रतियोगिताले रिव्दीकोटलाई पर्यटकीय माध्यमका रुपमा चिनाउने बताए । कार्यक्रममा पत्रकार कृष्ण पोखरेल, सामाजिक अभियान्ता गिता पाण्डे लगायतले पर्यटकीय गन्तव्यहरुलाई प्राथमिकरण गर्दै कार्यान्वयनमा लैजान जोड दिए ।

कार्यक्रममा पालिकाका अध्यक्ष नारायणबहादुर जिसीले भौतिक पुर्वाधार बाटो घाटो पुल भवन संगै जनताको आय आर्जनसँग जोडिएका पर्यटन व्यवसायमार्फत गाउँपालिकालाई चिनाउनु पर्छ भनी यो अभियान सञ्चालन गरेको बताए । पालिकाका अध्यक्ष नारायणबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत वडा नंं १ ख्याहाका वडा अध्यक्ष विष्णु गैरे, पालिकाका सचिवालय प्रमुख शिवबहादुर जिसीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update