Shittalpati
नेपाली काँग्रेस पाल्पाको कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड

पाल्पा । नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड भएको छ । विहीबार राती तानसेन नगरपालिका ४ सिल्खानटोलमा रहेको पार्टी कार्यालयको मूलगेटको ताला फोरेर चोरीको प्रयास गरिएको हो । कार्यालयमा रहेका दराज, कम्युटर, र्‍याकहरुमा तोडफोड भएको पार्टी सचिव झपेन्द्र गहिरेले जानकारी दिए ।

उनका अनुसार मुल ढोकाको ताल फोरेर दोस्रो तलामा रहेको ट्रेड युनियनका सभापतिको कोठामा रहेको र्‍याक,त्यस्तै तेस्रो तलामा रहेको पार्टी सभापतीको र्‍याक, कम्प्युटर कोठाको र्‍याक, पार्टी सचिवको कोठामा रहेको र्‍याक, कोषाध्यक्षको कोठामा रहेका दराज र कुर्ची फोरिएको छ । उक्त सामग्री तोडफोडबाट कार्यालयको झण्डै एक लाख भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ ।

पार्टीको क्रियाशिल सदस्यहरुको रकम आएको र सबै रकम बैंकमा जम्मा भएकाले नगद भने सुरक्षित रहेको पार्टी सचिव गहिरेले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ । तोडफोड गरिएका कम्प्युटर, दराज, र्‍याक लगायत उपकरण काम नलाग्ने अवस्थामा रहेको जनाइएको छ ।

नगद चोरी गर्ने उद्देश्यले तोडफोड भएको र चोरीको प्रकृती हेर्दा बजारका अन्य स्थनमा हुने चोरीका घटनासँग मिलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । यस्तै पछिल्लो समय जिल्ल्लाका विभिन्न स्थानमा अज्ञात समूहद्वारा चोरीका घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update