Shittalpati
गुल्मीमा विवादका कारण डेढ वर्षदेखि रोकिएको सुरक्षित आप्रवासन परियोजना सञ्चालनमा आउने

गुल्मी । गुल्मीमा विवादका कारण विगत डेढ वर्ष देखि सञ्चालन हुन नसकेको सुरक्षित आप्रवासन  (सामी) परियोजना अब सञ्चालन हुने भएको छ । यस अघि नेपाली काँग्रेस गुल्मीको विरोधका कारण सञ्चालन हुन नसकेको परियोजनाको विवाद समाधान भएसँगै सञ्चालन हुने भएको हो ।

यस अघि बिना सूचना स्थानीय तहले परियोजनामा कर्मचारी भर्ना गर्न थालेको भन्दै कांग्रेसको विरोधले कर्मचारी छनौट परीक्षा रोकिएको थियो । विवाद समाधान हुन नसकेपछि नेपाल नगरपालिका महासंघका महासचिव तथा धादिङ जिल्लाको निलकण्ठ्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना गुल्मी आएका थिए । रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल तथा परियोजना लागू हुने स्थानियतहका प्रमुखहरु लगायत, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागितामा विवाद समाधान गरिएको हो । यस अघि जिल्लाका चार वटा स्थानीयतहमा सञ्चालन हुने परियोजना अब थप दुई स्थानियतहमा पनि लागू गर्न माग गर्ने निर्णय भएसँगै विवाद साम्य भएको हो । यो परियोजना रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र छत्रकोट गाउँपालिकामा थियो । अब गुल्मीदरबार गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा पनि यो परियोजना सञ्चालन गरिने भएको छ ।

सदरमुकाम तम्घासमा नेपाल प्रेस युनियन गुल्मीले गरेको पत्रकार सम्मेलनमा नेपाल नगरपालिका महासंघका महासचिव भिम प्रसाद ढुङगानाले कर्मचारी भर्ना र सेवा प्रदायक मार्फत प्राविधिक सहयोग लिएर कार्यक्रम अघि बढाउन सकिने गरि सहमति भएको बताए । रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्लीराज भुसालले सामी परियोजना सञ्चालन गरिने बताए ।रेसुङ्गा नगरपालिकाका मेयर भुसालले पुराना आवेदन दिएका सबै यथावत नै रहने र थप एक हप्ता आवेदन आव्हान गरि सहमति भएको प्रक्रिया अनुरुप परियोजनाको कर्मचारी छनौट र अन्य प्रक्रियालाई अगाडि बढाईने बताए । साथै मेयर भुसालले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले देश भरी रहेका सथानीयतहरुले गरिरहेका गतिविधिका विषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाहरुलाई सम्बोधन गर्दै नेपाल नगरपालिका महासंघका महासचिव भिम प्रसाद ढुङगानाले संघीय सरकारले स्थानियतहका हक अधिकार कटौती गरिहेको बताए । मेयर ढुङ्गनाले संघीय व्यवस्थालाई बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण रोकथामका लागि पनि स्थानीयतहरुले महत्वपूर्ण भूमिका निभाईरहेको समेत मेयर ढुंगनाले बताए । पत्रकार सम्मेलनमा इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट, नेपाली काँग्रेस गुल्मीका उपसभापति बिष्णु प्रसाद बलाल, नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति सुरेशचन्द्र भुसाल, रेसुङ्गा नगरपालिकाका सल्लाहकार कृष्ण प्रसाद भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारी, नेपाल प्रेस युनियन गुल्मीका केन्द्रिय प्रतिनिधि जनार्दन घिमिरे, प्रेस संगठन गुल्मीका सह(संयोजक तिलाचन पाण्डे लगायत जिल्लास्थित सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । नेपाल प्रेस युनियन गुल्मीका सभापति रेशम कुवँरको सभापतित्व र सचिव रमेश विश्वकर्माको सञ्चालन रहेको कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारी, नेपाली कांग्रेस गुल्मीका उप-सभापति बिष्णु प्रसाद बलाल र रेशम कुँवरले सामी परियोजना र स्थानीय तहसंग पत्रकारिताको सम्बन्धका बारेमा आ–आफ्नो धारण व्यक्त गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update