Shittalpati
पाल्पामा तीन पक्की पुलको शिलान्यास

पाल्पा । जिल्लामा तीन वटा पक्की पुलको शिलान्यास गरिएको छ । निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा तीन वटा पक्की पुलको शिलान्यास गरिएको हो । निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुलको शिलान्यास गरिएको छ ।

निस्दी गाउँपालिकाको वडा नं. ६ अर्चले र पूर्वखोला गाउँपालिका १ को सिलुवा जोड्ने मोटरेवल पुलको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलन्यास गरेका हुन् । पुल शिलान्यास गर्दै मन्त्री चौधरीले तोकिएकै समयमा पुलको निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । उनले प्रदेश सरकारले जनताको सहजताको लागि प्रतिवद्ध भएर विकासमा लागेको बताउदै पाल्पामा सानो ठूला गरी ११ वटा पुल निर्माणको चरणमा रहेको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरु नारायण प्रसाद आचार्य, युवराज खनाल, जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मिरा मरासिनी, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा लगायतले पुल निर्माणपछि यहाँका स्थानीयहरुलाई सहज हुने बताए । आयोजनाको २०७८ पौष १९ गते सम्पन्न गर्ने गरी जय नेपाल कम्पनी विवेक कुबेर निर्माण सेवा प्रालिले ४ करोड २८ लाखमा ठेक्का लिएको छ ।

यस्तै तिनाउ गाउँपालिका–६ डुम्रेबाट चकल्दी हुँदै रिब्दिकोट गाउँपालिका –५ कुसुमखोला जोडने सडकमा पर्ने दुईवटा सडक पुलको शिलान्यास गरिएको छ । तिनाउ –६ डुम्रे पानी मिलस्थित खोलामा बन्न लागेको सडक पुलको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिलान्यास गरेका छन् । त्यस्तै, रिब्दिकोट –५ कुसुमखोलामा बन्न लागेको कुसुम चकल्दी खोला सडक पुलको संघीय सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गरे । यी दुवै पुल राष्ट्रिय पुनःर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईको चार/चार करोडको लागतमा बन्न लागेका हुन् । पुल बन्ने भएपछि त्यस क्षेत्रका स्थानीयहरुमा खुशी छाएक‍ो छ ।

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update