Shittalpati
जनतालाई स्थानीय सरकार भएको महसुस गराउँदै गुल्मीदरबार

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको छ । गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा उपभोक्ता समितिमार्फत सञ्चालन हुने आयोजनाहरुलाई वडास्तरमा गई योजना सम्झौता र कार्यादेश दिने कार्यको सुरुवात गरेर जनतालाई स्थानीय सरकार भएको महसुस गराउँन लागेको हो ।

गाउँपालिकामा उपभोक्ता समितिमार्फत २ सय ८५ वटा आयोजनाहरुलाई प्रभावकारी, गुणस्तरीय र तोकिएको समयमा संचालन गर्नको लागि जनताको सुविधालाई केन्द्रमा राखेर वडास्तरमा गई योजना सम्झौता र कार्यादेश दिने कार्य गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुलाई वडा–वडामा गई उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, कार्य संचालन प्रकृया, सामाजिक परिक्षण लगायतका विषयमा प्रशिक्षण कार्यक्रम संचालन गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

विगतका वर्षहरुमा उपभोक्ता समिति मार्फत कार्यहरु सम्पन्न गर्दा योजना सम्झौताको लागि पटक पटक गाउँपालिका धाउनु परेको, उपभोक्ता समितिलाई पर्याप्त ज्ञानको अभाव, योजना कार्यान्वय र भुक्तानीको लागि के–के कागजात आवश्यक पर्दछ भन्ने विषयमा आम उपभोक्ताहरुले आफूलाई मर्का परेको गुनासो गरेका थिए । यस वर्ष गाउँपालिकाले उपभोक्ताहरुको कार्यमा सहजता र पारदर्शिता कायम गर्नको लागि उपभोक्ता समितिले समिति गठन देखि अन्तिम भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजातहरु समावेश गरिएको उपभोक्ता सहयोगी पुस्तिका (आयोजना विवरण पुस्तिका) प्रकाशन गरि सबै वडा कार्यालय मार्फत उपभोक्ता समितिलाई उपलब्ध गराईएको छ । उपभोक्ता सहयोगी पुस्तिकाले उपभोक्ताको कार्यमा धेरै नै सहयोग र पारदर्शिता कायम गर्ने पाण्डेले बताए ।

यसरी गाउँपालिकाबाट कर्मचारीहरुको समूह हाम्रो घर दैलोमा नै आई योजना सम्झौता सम्बन्धी कार्य गरिदिएकोमा उपभोक्ता समूहको आउँनेजाने खर्च बँच्ने उपभोक्ता समितिका पदाधिकारीहरुले बताए । उनीहरुले यसरी थोरै समयमा नै योजना सम्झौता गर्न सकिने अनि योजनाको काम पनि छिट्टै सम्पन्न हुने हुँदा आफुहरुले स्थानीय सरकारको अनुभूत गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले जनताको सुविधालाई केन्द्रमा राखी विभिन्न रचनात्मक कार्यहरु संचालन गर्दै आएको छ । गुल्मीदरबार गाउँपालिकाले सुशासन तथा सेवाप्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारका क्षेत्रमा जनताले अनुभूत गर्ने किसिमले काम गर्न र भष्ट्राचार शून्य सहनशिलताको नीति अवलम्बन गर्दै कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले बताए । त्यस्तै गाउँपालिकाले यस भन्दा अगाडि पनि वडास्तरमा गई व्यवसाय दर्ता लगायतका विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update