Shittalpati
बगनासकालीका युवालाई बिना धितो ऋण

कृष्ण पोखरेल
पाल्पा । गाउँमै केही गर्न चाहना भएका तर पूँजी अभावमा केही गर्न नसकेका युवाका लागि बिना धितो ऋण प्रदान गरिने भएको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले केही गर्न चाहाने युवाहरुलाई १० लाख रुपैयाँसम्म विना धितो ऋणको व्यवस्था गर्न लागेको छ । गाउँपालिकाले स्वदेश तथा विदेशबाट रोजगारी गुमाई गाउँ फर्किएका, गाउँ घरमै कृषि पशु फार्म सञ्चालन गर्न चाहेका तथा विभिन्न स्वरोजगार कार्यक्रममा सहभागी हुन खोजेका युवा, दलित, महिला तथा अल्पसंख्यक जाती जनजातीहरुलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रम मार्फत बिना धितो सहुलियत दरको ऋण प्रदान गर्न लागेको हो । युवाहरुलाई सहुलित दरमा बिना धितो ऋण प्रदान गर्नको लागि गाउँपालिका र नेपाल बैङ्क लिमिटेड पाल्पा शाखा बिच एक कार्यक्रमको आयोजना गरी सम्झौता पत्रमा हस्ताक्षर भई आदान–प्रदान गरिने छ ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल र नेपाल बैक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पा बिच सहुलियत ऋण आदान–प्रदानका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापछि कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष बस्यालले गाउँमै केही गर्छु भन्ने आत्मविश्वास जोस जागर भएका युवाहरुका लागि गाउँपालिका र बंैक घरमै ऋण प्रदान गर्न आएको बताए । केही गर्छु भन्ने युवाहरुलाई पूँजीको अभावमा हात खुम्चाएर अब बस्नु पर्दैन, गाउँपालिकाको जमानी तथा सिफारिसमा नेपाल बैंकले १० लाख रुपैयाँसम्म सहुलियत कर्जा प्रदान गर्ने अध्यक्ष बस्यालले बताए । गाउँपालिकाभित्र कृषि र पशुपालनमा अत्यन्तै सम्भावना भएकाले उत्पादित वस्तुहरुको बजारीकरणका लागि पनि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष बस्यालले बताए । ऋणीले नियमित रुपमा बैंकको किस्ता बुझाउनेलाई गाउँपालिकाले ब्याज समेत भुक्तानी गरिदिने अध्यक्ष बस्यालले बताए । गाउँपालिका र बंैक बिच भएको सहमतीले अबका दिनहरुमा कृषि तथा पशुजन्य उद्योगहरु फष्टाउदै जाने, स्वरोजगार बढ्दै जाने अध्यक्ष बस्यालले बताए ।

कार्यक्रममा उपाध्यक्ष सरस्वती चिदीले गाउँपालिका र बैक बिच भएको सहमतीले रोजगारीका लागि विदेशिने युवाहरुको संख्या घट्दै जाने, कृषि तथा पशुपालन उत्पादनमा वृद्धि हुँदै जाने, गाउँ–गाउँमा रोजगारी बढ्दै जाने बताइन् । सम्झौता अनुसार दुबैपक्षले काम गरी गाउँ–गाउँमा रोजगारी वृद्धि गर्दै जानेमा उपाध्यक्ष चिदीले जोड दिइन् । नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख पासाङ दोर्जे शेर्पाले बैंकले नाफामूखी भन्दा पनि नेपाल सरकारको नीति नियम अनुसार सामाजिक उत्तरदायित्व अनुसार काम गर्दै आएको बताए । बैङ्कले लुम्बिनी प्रदेशका १३ पालिकासँग सम्झौता गरी सहुलियत दरका ऋण प्रदानको काम गर्दै आएको शेर्पाले बताए । बैंकले प्रत्येक पालिकामा कम्तीमा १ हजार जनालाई उद्यमी बनाउने गरी ऋण प्रवाह गर्ने योजना बनाएको शेर्पाले बताए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरेले गाउँपालिकाले युवाहरुलाई उद्योगी बनाउन चाहेकाले ऋण प्रवाह गर्ने युवाहरुलाई आवश्यक तालिम प्रदान गर्ने बताए । ऋण लिएका युवाहरुले समयमा ऋण नतिरे पालिकाबाट प्रदान गर्ने सम्पूर्ण सेवा सुविधा रोक्का गरिने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

नेपाल बैंक लिमिटेड पाल्पा शाखाका प्रमुख सुरज घिमिरेले पाल्पामा २ वटा पालिकासँग सहुलित दरमा ऋण प्रदान कार्यक्रम गरेको बताए । यस अघि तानसेन नगरपालिकासँग काम गर्दै आएको ६६ जनालाई ३ करोड रुपैयाँ सहुलियत रुपमा ऋण प्रदान गरिसकेको बताए । कार्यक्रम पालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता, पालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update