Shittalpati
पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिला

पाल्पा । पाल्पामा व्यावसायिक फूल खेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूल खेतीमा लागेका छन् । कोरोना संक्रमणले गर्दा आर्थिक समस्या बढ्दो रहेका बेला पाल्पा तानसेन नगरपालिकास्थित काजीपौवामा महिला सामूहिक फूल खेतीमा जुटेका छन् । पुष्प महिला समूहद्वारा गरिएको व्यावसायिक फूलखेती अहिले सबैलाई लोभ्याउने भएको छ ।

तानसेन नगरपालिका–४ सिल्खानटोलकी स्थानीय बासिन्दा तथा समूहका अध्यक्ष प्रतीक्षा सिंजालीले आफूहरुले पहिलो पटक व्यावसायिक फूल खेती गर्न थालेको बताइन् । उनले निरन्तरको मेहनतले फूल खेतीमा सन्तोषजनक उपलब्धि हासिल गरेकोे बताइन् । उनका अनुसार २० हजारको लागतमा चार रोपनी जग्गा भाडा लिई काम थालिएको र झण्डै ५० हजार फूलका बेर्ना बेच्दा फूलका थुँगा तथा माला बाहेकको आम्दानी भएको छ । उनले अझै पनि फूलका माला विक्री गर्न नसकिएको बताइन् । आफूलाई यस व्यवसाय राम्रो लागेपछि आगामी वर्षहरुमा समेत विस्तृत रूपमा खेती गर्ने योजनाका साथ काम अघि बढेको उनको भनाइ छ । विवाह तथा सरकारी, गैरसकारी कार्यालयका सभा, सम्मेलनमा मालाको माग बढ्दो छ । स्थानीय तहमा समेत फूलको मालाको माग बढेको छ तर माग अनुसार मालाको अभाव रहिरहेको उनले बताइन् । तानसेन–७ काजीपौवाकी फूल व्यवसायी चमेलीदेवी श्रेष्ठले विवाह, तथा दसैँ तिहार बाहेक पास्नी, जन्मदिनको अवसरमा समेत फूलको माग बढ्दो रहेको बताइन । सयपत्री फूल दैनिक पूजा आराधनामा खपत हुन्छ । पाल्पाको भैरवस्थानको भैरव मन्दिरमा फूलको माग बढेको छ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रको सिद्धबाबा मन्दिरमा दैनिक पूजा हुँदा फूलको माग बढिरहेको छ । ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा फूल खेती थालिएको हो । कोरोना संक्रमणले देशको अर्थतन्त्र कमजोर बनेको छ । नेपालीको आम्दानीको स्रोत समेत कमजोर बनेको बेला पहिलो पटक व्यवसाय गर्नेहरुले केही मात्रामा आम्दानी र उत्पादन गर्ने सीप सिकेकामा खुशी देखिएको हो । मेहनत गरेको अवस्थामा कृषि पेशाबाट मनग्य आम्दानी हुने व्यवसायीको भनाइ छ । चमेलीदेवीले फूल खेतीका लागि बिउको अभाव रहेको गुनासो गरिन् ।

फूल उत्पादनका लागि बिउ नेपाली बजारमा नपाइने र पाएपनि महङ्गो मूल्यमा खरिद गर्नुपर्ने समस्या झेल्नुपरेको उनको गुनासो छ । तानसेन नगरपालिका भित्रका १० महिला फूल खेतीमा आवद्ध छन् । पाल्पामा पाँच वर्ष अघिसम्म फूलको मालाका लागि रुपन्देही जिल्लामै भर पर्नुपर्ने बाध्यता थियो । जिल्लाको बगनासकाली, माथागढी, रिब्दीकोट, तिनाउ गाउँपालिका, तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिक रूपमा फूलखेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । फूल खेतीबाट ५० हजारदेखि १२ लाखसम्म आम्दानी भएको छ । कम मेहनत र लगानी गरेपछि फूल खेतीबाट प्रशस्त आम्दानी हुँदै आएको छ । सयपत्री फूलको थुँगा, माला, तथा बेर्ना गरी आम्दानी गर्ने सम्भावना रहेको विज्ञको भनाइ छ । पाल्पामा आगामी वर्ष फूल खेतीका लागि क्षेत्र विस्तार हुने प्रमुख अर्यालले बताए । ज्ञान केन्द्र पाल्पाले यस खेतीको प्रवद्र्धनका लागि प्रचार–प्रसार र प्राविधिक सहयोग गर्दै आएको प्रमुख अर्यालले बताए । व्यावसायिक रूपमा फूल खेती गर्ने उन्नत जातका फूलप्रति आकर्षित भएका छन् । स्थानीयस्तरमा फूल खेती गर्नेहरु कमी छैनन् । उनीहरुले परम्परागत रूपमा दसैँ तिहारका लागि मात्र फूल उत्पादन गर्दै आएको पाइन्छ । हजारी, मखमली फूलको समेत उत्पादन हुँदै आएको पाइन्छ । जिल्लाको तिनाउ गाउँपालिकाको मस्याम, सत्यवती, कचल, कोलडाँडा क्षेत्रबाट दसैँ तिहार लक्षित गरी फूल खेती हुँदै आएको स्थानीयवासी छविलाल गहतराजले बताए । कोरोनाका कारण रोजगारी गुमाएका युवा अहिले व्यावसायिक रूपमा कृषि तथा पशुपालन र खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update