Shittalpati
संकटको सारथी बन्दै सामुदायिक रेडियो मदनपोखरा

पाल्पा । कोभिड-१९ महाव्याधीविरूद्ध संसार लडिरहेका बेला सिंगो नेपाली समुदाय पनि यसबाट जोगिन भागदौड गरिरहेको छ । सिंगो देश स्वास्थ्य संकटबाट जीवन बचाउन लागिरहेका बेला पाल्पाको सामुदायिक रेडियो मदनपोखरा पनि अहिले त्यसकै बलियो हिस्सा बनेको छ । रेडियो दुःख र अनिश्चयका पहाडलाई छिचोलेर आशाको सञ्चार छर्न थप सक्रिय बनेको हो ।

कोरोनाको कहरमा कयौं नागरिक आँसु खसाल्दै सडकमा पोखिए, कयौँका यात्रा हिड्दा हिड्दै रोकिए । कोही भोको पेटमा पटुका कस्दै खानाका लागि भौतारिरहेका बेला तीनै यात्रीको सहयात्री बन्दै मलिन अनुहारमा खुसी पर्काउन र नागरिक प्रतिको सञ्चार दायित्व पूरा गर्न हिजो आज रेडियो लागि परेको छ । रेडियोले कोरोना महामारीका कारण आर्थिक सामाजिक संकटका बीचमा पनि श्रोताको हित र समुदायको रुपान्तरणका कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

रेडियोले एक प्रेस विज्ञप्ती नै जारी गरी समुदायको रुपान्तरण, विपद्सँग जुध्ने उपाए, सामुदायिक हितलगायत रेडियोको लक्ष्य र उद्देश्यमा अविचलित क्रियाशील रहने प्रतिवद्धता व्यक्त समेत गरेको छ । मानिसको दैनिक जीवनमा मात्र होइन, पेशा, व्यवसाय, उद्योग, रोजगारीसँगै समाज र राष्ट्रका कार्यक्रमहरु समेत खलबलिएका बेला रेडियोले सूचना, समाचार र शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सारेमका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालद्वारा जारी प्रेस विज्ञप्तीमा ‘कोरोना स्वास्थ्य सल्लाह, एसइई पाठशाला, हाम्रो पाठशाला, सुन्दै पढ्दै, गुरुकुल जस्ता शिक्षामूलक कार्यक्रम कोरोनापछिका उत्पादन हुन्, यी कार्यक्रमले समुदायलाई संकटको साथी रेडियो बनाएका छन्’ विज्ञप्तीमा भनिएको छ ।

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, तनहुँ र पर्वत जिल्लालाई आफ्नो प्रसारण र कार्यक्षेत्र मानेको रेडियोले कोरोनाबाट अकालमै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने संक्रमितहरुमा भाइरससँग जुध्ने प्रतिरोधात्मक शक्ति पैदा होस् भन्ने कामना समेत गरेको छ । ‘कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउन, निषेधाज्ञा र निर्देशनहरुले पनि सारेममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले धेरै दुःख खेप्न बाध्य भए । यस महामारीका कारण रेडियोको आम्दानीको स्रोत घट्यो, खर्च बढ्यो । यो जटिल र संवेदनशील अवस्थामा पनि हामीले सूचना, समाचार र शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दियौं, दिइरहनेछौँ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

रेडियोले कोभिड विरुद्ध जुध्न उत्प्रेरणा प्रदान गर्ने, सहयोग र सद्भाव दिने तानसेन नगरपालिकालगायत पाल्पाका सम्पूर्ण स्थानीय तहहरु, स्वास्थ्य कार्यालयलगायत अस्पतालहरु, रुम टु रिड पढ्नका लागि कोठा, ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपाल, दमकडा नमूना माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय, इक्वल एक्सेस नेपाल, सामुदायिक रेडियो प्रसारक संघ, र सामुदायिक रेडियोहरुको विश्व संगठन अमार्क एशिया प्रशान्तलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update