Shittalpati
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन

कृष्ण पोखरेल/रमेश विश्वकर्मा
पाल्पा । नेपाली काँग्रेस पाल्पा र गुल्मीले विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो । विरोध कार्यक्रममा गाउँ–गाउँबाट आएका कार्यकर्ताहरुले मुखमा माक्स लगाएर सहभागी भएका थिए । वर्तमान सरकारले दुई तिहाई दम्भको नाममा लोकतन्त्र नै सिध्याउने गरी तानाशाही कम्युनिष्ट चरित्र अनुसार काम गर्दै आएको नेता तथा कार्यकर्ताले आरोप लगाए । वर्तमान सरकारले जनताको भावना अनुसार काम नगरेकोले, ओली सरकार पूर्ण रुपमा असफल भएको, पार्टी विवादको नाममा संसद अधिवेशन समेत नबोलाएको, भन्दै वर्तमान सरकारको विकल्प खोज्नु पर्ने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् । नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयको शुरु भएको विरोध र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै विशालबजार विपि चोकमा कोणसभामा परिणत भएको थियो । विरोध कार्यक्रमलाई पार्टी सभापती वीरबहादुर राना लगायतले सम्वोधन गरेका थिए । वर्तमान सरकारले गरेका ज्यादती, भ्रष्टाचार अनियमितता, कमिसनतन्त्र हटाउनको लागि नेता तथा कार्यकर्ता देशव्यापी रुपमा आन्दोलनमा उत्रिनु परेको सभापती रानाले बताए ।

यसैगरी गुल्मीको तम्घासमा पनि वर्तमान सरकारको सर्वसक्तावाद विरुद्ध नेपाली काँग्रेस गुल्मीले वृहत विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताए । संविधान सभा सदस्य समेत रहेका परियारले सर्वसत्तावाद विरुद्ध काँग्रेसले जस्तोसुकै कडा कदम चाल्ने बताए । नेता परियारले प्रतिपक्ष कहाँ छ ? भन्नेहरुका लागि पनि काँग्रेसले ७७ वटै जिल्लाबाट सडकमा उत्रिएर सरकारको खबरदारी गरेको भन्र्दै तनहुँमा पुलको उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडल माथि भएको प्रहरी दमन र दुव्र्यवहारको घोर भत्र्सना समेत गरे । नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले नेपाली जनताको ठूलो बलिदानीबाट प्राप्त भएको प्रजातन्त्रलाई सरकारले रक्षा गर्न नसकेको बताए । अहिले वर्तमान सरकारका विकृतिपूर्ण गतिविधिहरुले मुलूकमा प्रजातन्त्र आएको छैन की ? भन्ने अनुभूति गराएको आरोप लगाए । वर्तमान कम्युनिस्ट सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा, कुशासन, अधिनायकवादी शैली र तनहुँमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारको विरुद्धमा काँग्रेस गुल्मीले वृहत विरोध प्रदर्शन गरेको जिल्ला सचिव खिलध्वज पन्थीले बताए । नेपाली काँग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवनदेखि नारा लगाउँदै र्‍याली सहित तम्घास बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि आई कोण सभामा परिणत भएको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update