Shittalpati
तम्घासमा बजार अनुगमन,  अधिकांश  पसलमा मूल्यसूची नै छैन

रमेश विश्वकर्मा

गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा मुख्य बजार क्षेत्रको अनुगमन गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश, जिल्ला प्रशासन कार्यालय गुल्मी,रेसुङ्गा नगरपालिका उपभोक्ता हित संरक्षण मञ्च, पत्रकार लगायतको सहभागितामा रेसुङ्गा नगरपालिका वडा नम्बर एक र दुई वडाका मुख्य बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको हो ।

खाद्यान्न, फेन्सी, सुनचाँदी पसल, मासु पसल लगायतका २८ वटा पसलहरुको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थीले जानकारी दिए । अनुगमनका क्रममा ढक,तराजुको अध्यावधिक नभएको,फेन्सी पसलहरुले विक्रिवितरण गर्दा बिल नकाटेको तथा व्यवसायीहरुमा करसम्बन्धी जानकारी नभएको पाईएको पन्थीले बताए । साथै मूल्य सूची नराखेको, पसलमा देखिने गरी फर्म दर्ता प्रमाणपत्र नराखेको पाईएकाले पहिलो पटकका लागि सचेत गराईएको उनले बताए ।

अनुगमन तथा निरिक्षणका क्रममा २ हजार ९ सय मूल्य बराबरका अखाद्य सामग्री नष्ट गरिएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका अधिकृत गणेश घिमिरेले बताए । सोही अवसरमा मूल्य सूची राख्न, फर्महरुको नविकरण गर्न सुझाव दिईएको छ । अनुगमनमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका अधिकृत गणेश घिमिरे, घरेलु तथा साना उद्योग कार्यालय तम्घासका कार्यालय प्रमुख लक्ष्मण घिमिरे, रेसुङ्गा नगरपालिकाका हरिशरण पन्थी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नवराज भुसाल, उपभोक्ता हित संरक्षण मञ्चकी शान्ता पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update