Shittalpati
रामपुरका महिला जनप्रतिनिधि सामूहिक कृषि कर्ममा

रामचन्द्र रायमाझी
पाल्पा । नेपाल कृषि प्रधान देश हो । तर कृषिलाई व्यवसायिक बनाउन नसक्दा देशले आर्थिक समृद्धि हासिल गर्न सकिरहेको छैन । जनप्रतिनिधि र राजनैतिक नेतृत्वले कृषिमार्फत नेपाललाई समृद्ध बनाउने भाषण नगरेका होइनन् तर व्यवहारिक रूपमा कृषिको प्रवद्र्धनमा लागेको कमै देख्ने गरिएको छ । पछिल्लो समय भने कृषिमा केही आशाका किरणहरु भने देख्न सकिन्छ । देश संघीय संरचनामा गइसकेपछि तीन तहका सरकार निर्माण भएका छन् । अहिले स्थानीय सरकार र जनप्रतिनिधि भने कृषिलाई व्यवसायिक बनाउने अभियानमै लागेकाले कृषिमा केही आशाका किरणहरु पलाएका हुन् । पाल्पाका केही स्थानीय तहमा कृषिका दीर्घकालीन योजनाहरु अगाडि बढेका छन् भने केही जनप्रतिनिधि आफै नै व्यवसायिक कृषि पेशामा संलग्न हुन थालेको पाइन्छ । कतिपय लामो समय राजनीति र समाज सेवामा लागेर कृषि पेशामा लागेका छन् भने कतिपय कृषि, राजनीति र समाज सेवा सँगसँगै गरिरहेको छन् । यस्तै मध्येका हुन् रामपुर नगरपालिकाका महिला जनप्रतिनिधि । जनप्रतिनिधि भन्ना साथ सुकिलो कपडा लगाएर सामाजिक र सरकारी काममा मात्र व्यस्त हुन्छन भन्ने मानसिकतालाई रामपुर नगरका महिला जनप्रतिनीधिहरुले तोडिदिएका छन् । उनीहरुले सामूहिक रुपमा व्यवसायिक आलु खेती गरेर अहिले उदाहरणीय कार्यको थालनी गरेका हुन् । सात जना जनप्रतिनिधि मिलेर स्थानीय सरकारको सहयोगमा ५ रोपनी क्षेत्रफलमा उन्नत जातको बीउको प्रयोग गरी खेतीको सुरुवात गरेका छन् ।

पुरुष जनप्रतिनीधि सामाजिक काममा र महिलाहरु घरायसी काममा मात्र व्यस्त हुन्छन् भन्ने पुरातन मान्यतालाई तोड्दै समयको व्यवस्थापन गरी उनीहरु व्यवसायिक कृषिमा लागेका हुन् । आय–आर्जनको माध्यम बनाउन जिल्ला मै पहिलो पटक महिला जनप्रतिनिधिहरुले संस्थागत रुपमा व्यवसायिक आलु खेती गरेका छन् । खाद्यान्न तरकारी उत्पादनका लागि ऊर्वर ठानिने रामपुर फाँटमा नगर कार्यपालिका सदस्यहरुले समय अनुसार मौसमी, बेमौसमी तरकारी खेती गर्ने उद्देश्यले कृषि कर्मको थालनी गरेका हुन् ।

कृषिलाई व्यवसायिकरण गर्नुको साथै महिलाहरुको आर्थिक विकासमा टेवा पुग्ने गरी महिला जनप्रतिनिधिहरु कृषि कर्ममा लागेको कार्यपालिका सदस्य दुर्गा भण्डारीले बताइन् । महिला जनप्रतिनिधिहरुले बहु उपयोगीका साथै सबैको भान्सामा अनिवार्य जस्तै भएको आलुमा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय सरकारमार्फत संयुक्त आलु खेतीमा लागेका हुन् । भान्सामा नियमित र अनिवार्य जस्तै ठानिने आलु खेतीको सुरुवात गरी नियमित रुपमा अन्य तरकारीको समेत खेती गरिने कार्यपालिका सदस्य सावित्रा गौतमले बताइन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update