Shittalpati
नेता पौडेलमाथि भएको अभद्र व्यवहारप्रति पाल्पामा विरोध प्रदर्शन

पाल्पा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको अभद्र व्यवहारप्रति पाल्पामा विरोध प्रदर्शन भएको छ । बुधबार तनहुँको व्यास नगरपालिकामा बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा वरिष्ठ पौडेल सहित नेता कार्यकर्तामाथिको पक्राउ र कुटपिट प्रकरणको विरोधस्वरुप नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ (नेविस संघ) पाल्पाले विहीबार तानसेनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले वरिष्ठ नेता पौडेलमाथि अभद्र व्यवहार भएको भन्दै आपत्ति जनाएका छन् । घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका केन्द्रीय सदस्य हरिवोल भट्टराईले नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावाद भएको बताएका छन् । उनले उखान टुक्रे प्रधानमन्त्रीको आदेशमा प्रहरीले पौडेल लगायतका नेता कार्यकर्ता माथि गरेको दुव्र्यवहार र जवरजस्ती गिरफ्तारी अत्यन्तै आपत्तिजनक र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको धारणा व्यक्त गरे ।

नेपाल तरुणदलका जिल्ला सभापति मेजर सिं केसीले ओली सरकारको अलोकतान्त्रिक, दमनकारी र निन्दनीय कार्य प्रति आपत्ति जनाउदै यसका विरुद्ध तरुणदल एक ढिक्का भएर अगाडि बढ्ने बताए । उनले भने ‘यस्ता घटनाप्रति जनस्तरमै कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन पाल्पा तरुणदल एक ढिक्का भएर सरकारको विरोधमा सशक्त प्रतिवाद गर्ने चेतनावनी दिन चाहन्छौं ।’

नेविसंघका जिल्ला सभापति कृष्ण बहादुर आलेले काँग्रेसका नेता कार्यकर्ताहरु माथि दमन गर्दै लोकतन्त्रलाई नै परास्त गर्न खोजेको आरोप लगाए । उनले जनताको लामो संघर्षबाट ल्याइएको लोकतन्त्रलाई बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले संकटमा पार्न थालेको बताए । नेविसंघका नेता सुरेस बोहोराले सरकार लोकतन्त्रविरोधी बन्दै गएकाले अब त्यसका विरुद्धमा नेविसंघले सशक्त आन्दोलन थाल्ने चेतावनी दिए । विरोध प्रदर्शन कार्यक्रममा नेविसंघ र तरुणदलका नेता कार्यकर्ताहरुको व्यापक उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update