Shittalpati
चौतर्फी विरोधपछि काँग्रेस वरिष्ठ नेता पौडेल रिहा

पाल्पा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । चौतर्फी विरोधपछि पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबै रिहा भएको जनाइएको छ । बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो । नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएपछि प्रहरीले बुधबार सँझा नै नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो । नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए । तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन नेता पौडेलले गर्ने कार्यक्रम तय भएको थाहा पाएपछि जिल्ला प्रशासनले पुलको उद्घाटन रोक्न भनेको थियो । झडप र तनाव हुन नदिन निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासनले पुल उद्घाटनमा अवरोध गरेको काँग्रेसको आरोप छ ।

नेता पौडेल पक्राउ परे लगत्तै नेपाली काँग्रेसले चर्को विरोध गरेको थियो । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले विज्ञप्ति सार्वजनिक गर्दै नेता रामचन्द्र पौडेलप्रतिको दुव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद वीरबहादुर राना,गुल्मी नेपाली काँग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली काँग्रेस क्षेत्र नम्वर १ गुल्मीका सभापति तथा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल लगायतले पनि विज्ञप्ति सार्वजनिक गर्दै घटना आपत्तिजनक एवं निन्दनीय भएको बताएको थिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update