Shittalpati
गुल्मीका १२ हजार भन्दा बढी  व्यक्तिले दिए रोजगारीका लागि आवेदन

रमेश विश्वकर्मा
गुल्मी । गुल्मी जिल्लामा १२ हजार बढीले रोजगारका लागि आवदेन दिएका छन् । जिल्लाको २ नगरपालिका र १० गाउँपालिका गरी १२ वटै स्थानीय तहमा १२ हजार १ सय ७१ जना व्यक्तिले बेरोजगारहरुले स्वरोजगारका लागि आवेदन दिएको यहाँका स्थानीय तहका रोजगार संयोजकहरुले बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाका स्थानीय तहरुले आवेदन माग गरेका थिए । गएको भदौ सात गते देखि असोज २० गतेसम्ममा त्यस संख्यामा आवेदन परेको स्थानीय तहका रोजगार संयोजकहरुले बताए । आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १९ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरिएको बताइएको छ ।

एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जिल्लाको रेसुङ्गा नगरपालिकामा ८ सय ५० जना बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि नगरपालिकामा उक्त संख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचिकृत गरिएको रोजगार संयोजक सन्तोष पन्तले जानकारी दिए । यहाँ २ सय २७ जना भन्दा बढीलाई यस आर्थिक वर्षमा रोजगार प्रदान गरिने पन्तले बताए ।
मुसिकोट नगरपालिकामा एक हजार ५८ जना बेरोजगार सूचिकृत भएका छन् । त्यस संख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचिकृत गरिएको नगरपालिकाले जनाएको छ । ईस्मा गाउँपालिकामा ७ सय १४ जना बेरोजगार सूचीकृत भएका छन् । त्यस संख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत गरिएको रोजगार संयोजक गणेश कुँवरले जानकारी दिए ।

यस आर्थिक वर्षमा त्यस गाउँपालिकामा १ सय ९५ भन्दा धेरैले रोजगार प्राप्त गर्ने कुँवरले बताए । धुर्कोट गाउँपालिकामा १ हजार ९ सय २७ जना बेरोजगार सूचीकृत भएका रोजगार संयोजक मिना सुनार श्रीपालीले जानकारी दिइन् । त्यस गाउँपालिकामा ७ वटा वडा रहेका छन् । यस आर्थिक वर्षमा प्रत्येक वडाबाट ५० जनाको दरले रोजगार पाउने उनले बताइन् । अति विपन्न, दलित, गरिब, एकल महिला, अपाङ्ग, वैदेशिक रोजगार गुमाएका व्यक्तिलाई विशेष प्राथमिकता दिईने श्रीपालीले बताइन् । मालिका गाउँपालिकामा १ हजार ५ सय ५० जना बेरोजगार सूचीकृत भएका रोजगार संयोजक खेमराज गैरेले जानकारी दिए । उनका अनुसार ३ सय ६ जनाले यस आर्थिक वर्षमा रोजगार पाउने छन् । बेरोजगार भएको एक वर्षभित्रमा न्यूनतम रोजगार प्राप्त नगरेको, स्वरोजारमा संलग्न नभएको, सरकारले तोके भन्दा कम आय–आर्जन भएकोलाई गाउँपालिकाले विशेष प्राथमिकता दिने उनले बताए । मदाने गाउँपालिकामा १ हजार ३ सय ७५ जना बेरोजगार सूचिकृत भएका रोजगार संयोजक रमिता केसीले जानकारी दिइन् । यस आर्थिक वर्षमा त्यस गाउँपालिकामा २ सय ९५ जनालाई रोजगार प्रदान गरिने उनले बताइन् । त्यस गाउँपालिकाले वैदेशिक रोजगार गुमाएका, रोजगारको खोजीमा रहेका, गरिब, विपन्नलाई प्राथमिकता राखेको केसीले जानकारी दिइन् । आम्दानीको आधारमा आधारमा न्यूनतम १ सय दिनका लागि रोजगार प्रदान गरिने छ । गुल्मीदरबार गाउँपालिकामा ६ सय ६५ जना वेरोजगार सूचीकृत भएका रोजगार संयोजक निर्मला पाण्डेले जानकारी दिइन् । उनका अनुसार यस आर्थिक वर्षमा १ सय ८५ जनाले रोजगार प्राप्त गर्नेछन् ।

छत्रकोट गाउँपालिकामा ८ सय ६९ जना बेरोजगार सूचीकृत भएका रोजगार संयोजक शोभा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार यस आर्थिक वर्षमा २ सय ६ जनाले रोजगार प्राप्त गर्नेछन् । गाउँपालिकाले अति विपन्न, एकल महिला, गरिब, दलित तथा रोजगार गुमाई बेरोजगार भएकालाई विशेष प्राथमिकतामा राखेको श्रेष्ठले जानकारी दिइन् । रुरु क्षेत्र गाउँपालिकामा १ हजार १ सय २२ जना बेरोजगार सूचीकृृत भएका रोजगार संयोजक करुणा पन्थीले जानकारी दिइन् । यस आर्थिक वर्षमा २ सय ४ जनाले रोजगार प्राप्त गर्ने पन्थीले बताइन् । सत्यवती गाउँपालिकामा ९ सय २७ जना बेरोजगार सूचीकृत भएका रोजगार संयोजक सुभाष आर्चायले जानकारी दिए । कालीगण्डकी गाउँपालिकामा ४ सय ७३ जना बेरोजगार सूचिकृत भएका प्रशासन शाखाका पुण्य आर्चायले जानकारी दिए । चन्द्रकोट गाउँपालिकामा ६ सय ४१ जना बेरोजगार सूचीकृत भएका रोजगार संयोजक यज्ञमूर्ति न्यौपानेले जानकारी दिए । चालु आर्थिक वर्षमा १ सय ८६ जनाले रोजगार प्राप्त गर्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७७  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update