Shittalpati
गुल्मीको मदानेमा १५ शैयाको अस्पताल शिलान्यास

रमेश विश्वकर्मा

गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका ६ पुर्कोटदहमा १५ शैयाको सरकारी अस्पताल निर्माण हुने भएको छ । उक्त अस्पतालको एक कार्यक्रमका बिच पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले शिलान्यास गरेका छन् । अस्पतालको शिलान्यास गर्दै पुर्वमन्त्री विष्टले गुल्मी जिल्लाको मदाने गाउँपालिकामा अस्पताल शिलान्यास भएसँगै नेपाल सरकारले सुरु गरेको एक पालिका एक अस्पताल पनि गुल्मीमा मदाने गाउँपालिकाबाट सुरु भएको बताए । उनले गाउँमै अस्पताल निर्माण भएपछि जनताहरुलाई स्वास्थ्य उपचारको लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

हरेक पालिकामा कम्तिमा एउटा १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ४४ लाख संघीय सरकारबाट विनियोजन भएको तर टेन्डर आह्वान १८ करोड कै गरिने गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । १८ करोड लागतमा बन्ने अस्पतालको भवन २ वर्षमा सम्पन्न हुने उनले बताए । यहाँ निर्माण हुने सरकारी अस्पताल मदानेको मात्र नभई जिल्ला कै उत्कृष्ट बन्ने बताइएको छ । त्यस्तै कार्यक्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update