Shittalpati
‘सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिनुहोस्’

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिन आग्रह गरेका छन् । गुल्मीको सत्यवती गाउँपालिकाको अश्लेवामा आइतबार खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सरकार फेर्ने कुरा उठिरहेकाले यस्ता खेलमा लागेर जनतालाई पीडा दिने काम नगर्न सत्तापक्षीय तथा विपक्षीहरुलाई आग्रह गरेका हुन् । उनले अहिले जनताको चाहाना मन्त्री वा प्रधानमन्त्री फेर्ने कुरामा नभई देशको अवस्था र जीवनस्तर फेर्ने कुरामा रहेको बताए । मन्त्री ज्ञवालीले भने ‘वर्षदिन नपुग्दै सरकार फेर्ने बानी परेकाहरुलाई सरकार फेर्न हतार भएको होला, तर यो जनताको हितमा छैन ।’ उनले सरकार जनताका न्यूनतम आवश्यकता पुरा गर्दै अगाडि बढेकाले साना तिना कुराहरुले नअल्झिने बताए ।

नेकपामा केही समयदेखि देखिएको विवादमाथि टीप्पणी गर्दै मन्त्री ज्ञवालीले भने ‘जनताले वर्तमान सरकारबाट रोजेको मुख्य कुरा नतिजा, वितरण र आउटपुट रहेको हो ।’ वर्तमान अवस्थामा कोही पनि निराशाका सन्देशबाट विचलित नहुने आग्रह गर्दै उनले देश समृद्धिको दिशामा अघि बढिसकेको उल्लेख गरे । मन्त्री ज्ञवालीले सरकार परिवर्तन हुन्छ भन्ने बजार हल्ला निराधार भएको उल्लेख गर्दै जनताले बाहेक अरुले सरकार परिवर्तन गर्ने खेलमा लाग्नु व्यर्थ रहेको चेतावनी समेत दिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको एक करोड ९६ लाख ४२ हजार सात सय ९८ रुपैयाँको लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको छ । यो आयोजनाले यस क्षेत्रका एक सय ९४ घरमा लाभान्वित भएका छन् । घरमै पर्याप्त पानी आएपछि अस्लेवाका स्थानीयको दैनिकी बदलिन थालेको छ । घर–घरमा खानेपानी आएपछि सरसफाई, तरकारी, घरको काम र गोठमा समेत सजिलो भएको स्थानीयबासिन्दा बताउँछन् । अस्लेवा ५, ६ र ७ खानेपानी तथा सरसफाई आयोजना मार्फत अस्लेवाका नागरिकको ‘एक घर एक धारा’ को चाहाना पुरा भएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update