Shittalpati
गुल्मी जिप दुर्घटना अपडेट : मृत्यु भएका दुई नेपाली सेना सहित एकै गाउँका ६, गाउँ नै शोकमा

रामचन्द्र रायमाझी/रमेश विश्वकर्मा
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको हुलमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ईश्मा ४ हुलका ६५ वर्षीय डम्मर बहादुर हितान, उनको दिदी ८० वर्षीया सुन्दरी थापा, सोही ठाउँका ३३ वर्षीय शिब बहादुर दर्लामी, उनका भाइ ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र १९ वर्षीय फर्सुराम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा अध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार सुन्दरी थापा हुल आफ्नो माइतीघरमा बस्दै आएकी थिइन् । उनी र डम्वर बहादुर एकै परिवारका हुन् भने शिब र बसन्त पनि एकै परिवारका दुई दाजु भाइ रहेको वडा अध्यक्ष अधिकारीले जानकारी दिए । मृतक शिब र धनबहादुर नेपाली सेनाका जवान हुन् । शिव गोरखदल गण पाल्पामा कार्यरत रहेको र हाल कागजमा विरभद्रजंग गुल्म गुल्मीमा खटिएका थिए । उनी विदा मनाउन घर गएको र काम विशेषले सदरमुकाम जान हिडेको स्थानीयले बताएका छन् । उनीसँगै भाई बसन्त पनि भर्ती हुनका लागि हिडेको बुझिएको छ । मृतक धनबहादुर पनि चितवन नेपाली सेनामा कार्यरत रहेका छन् । उनी विदा मनाएर कार्य क्षेत्र फर्कदै गरेका थिए । उनीसँगै पाँच जनाको घटनास्थलमै र फर्सुरामको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएपछि हुल सिंगो गाउँ नै शोकमा डुवेको छ ।

जीपमा चालक सहित नौ जना सवार रहेका थिए । उनीहरु मध्ये दुई जना घाइते छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा मृतक शिबको श्रीमति २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल हितान रहेका छन् । घाइते दर्लामीको एउटा हात भाचिएको छ भने हितानको हातमा चोट रहेको जनाइएको छ । घाइतेहरुको पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभास थप उपचारका भइरहेको छ । सडकमा घुम्ती मोड्न नसकेपछि जीप भिरबाट ४ सय मिटर तल खसेको थियो । चालक बुद्ध बस्नेत भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update