Shittalpati
‘ओली र प्रचण्ड बिचको असमझदारी नै अहिलेको संकट’

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको असमझदारी नै अहिलेको संकट भएको बताएका छन् । रुपन्देहीको सैनामैना नगरपालिका ९ स्थित पीपलडाँडामा निर्माण हुन लागेको स्मार्ट रिफ्रेस सेन्टरको शुक्रबार शिलान्यास गर्दै उनले पार्टी एकतालाई सफल बनाउन दुई आन्दोलनका मुख्य नेताबीचको समझदारी र एकता न्यूनतम शर्त भएको स्पष्ट पारे । नेता पोखरेलले सहमति र सहकार्य अहिलेका सन्दर्भमा अपरिहार्य आवश्यकता भएकामा जोड दिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले कानून निर्माणमा प्रदेश अग्रणी भएको जिकिर गर्दै सबैभन्दा बढी पूँजीगत खर्च हुने प्रदेश पनि लुम्बिनी नै भएको बताए । राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले अव्यवस्थित बसोबासको समस्या समेत सम्बोधन गरिने बताए । भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभ्यता र संस्कृति निर्माणमा सेन्टरले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रुपमा यसलाई विभिन्न जिल्लामा विस्तार गरिने उल्लेख गरे । प्रदेशसभामा सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले नगरपालिकाको सो क्षेत्रलाई दूधको पकेट क्षेत्रका रुपमा घोषणा गरेर प्रदेश सरकारले काम गरिरहेको बताए । करीब दुई बिघा क्षेत्रफलमा निर्माण हुन लागेको सो सेन्टरको प्रथम चरणको लागत तीन करोड ५५ लाख ७९ हजार ५ सय १० छ । प्रदेश सरकारले त्यस्तो सेन्टर रुपन्देहीबाहेक, नवलपरासी, कपिलवस्तु, दाङ र बर्दियामा निर्माण गर्न लागेको छ । सैनामैनामा निर्माण हुन लागेको सेन्टरलाई नगरपालिकाले जग्गा उपलब्ध गराएको हो । अत्याधुनिक सार्वजनिक शौचालयसहितको सो सेन्टर निर्माण दुई वर्षमा पूरा भएपछि स्थानीय सरकारलाई नै हस्तान्तरण हुनेछ । चिया, कफी पाइने सो सेन्टरमा लामो दूरीका सवारी चालकलाई आरामका लागि व्यवस्था गरिएको छ । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र उपप्रमुख विना राना, रुपन्देहीका डिभिजन प्रमुख राजकुमार चौधरी, खानेपानी महाशाखा प्रमुख ध्रुव धिताललगायतले सो परियोजनाबाट सरसफाइमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । –रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update