Shittalpati
गुल्मी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

गुल्मी । गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार विहान इस्मा गाउँपालिका ४ हुलदेखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटनामा घाइते भएका हुलका १९ वर्षीय फर्सुराम थापाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो ।

दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा ईश्मा ४ हुलका ६५ वर्षीय डम्मर बहादुर हितान, सोही ठाउँका ३३ वर्षीय शिब बहादुर दर्लामी, ३० वर्षीय बसन्त दर्लामी ३३ वर्षीय धन बहादुर अछामी, मालिका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको प्रहरी चौकी इस्माले जनाएको छ । मृतक मध्ये शिव बहादुर दर्लामी पाल्पामा नेपाली सेनामा कार्यरत बहाल र धन बहादुर अछामी पनि बहालवाला नेपाली सेना रहेको जनाइएको छ । जीप एक्कासी अनियन्त्रित भई सडकबाट ४ सय मिटर तल खस्न पुगेको वडा अध्यक्ष गनुप्रसाद अधिकारीले जानकारी दिए ।

गाडीमा चालक सहित १० जना सवार रहेको बुझिएको छ । जसमध्ये दुई जना घाइते रहेका छन् । अन्य बेपत्ता रहेको प्रहरी चौकी ईस्माले जनाएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुमा हुलकी २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल हितान रहेका छन् । घाइते दर्लामीको एउटा हात भाचिएको छ भने हितानको हातमा चोट रहेको जनाइएको छ । घाइतेहरुलाई थप उपचारका लागि पाल्पा लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक बुद्ध बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । बेपत्ता दुई जनाको भने खोजी कार्य जारी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update