Shittalpati
अदुवा खेतीको विकल्प बन्यो बेसार

रामचन्द्र रायमाझी/प्रकाश नेपाल
पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकमै बेसारको कुरा गरेपछि यो खुबै चर्चित बन्यो । सामाजिक सञ्जालमा बेसारमय तस्वीरहरु देखिए । कतिपय कलाकारले त यसको गीत बनाउनसमेत भ्याए । हो त्यही बेसार अहिले पाल्पामा अदुवा खेतीको विकल्प बनेको छ । विगतमा अदुवा खेती व्यवसायिक नगदेवालीका रुपमा स्थापित बनेको थियो । तर अदुवाले भारतीय बजार नपाएपछि विस्थापित हुने अवस्थामा पुग्यो । अहिले यहाँका कृषकहरुले अदुवा खेतीको विकल्पमा बेसार खेती गर्न थालेका छन् ।

केही वर्षयता भारतले अदुवा आफै उत्पादन गर्न थालेकाले नेपाली अदुवाले बजार पाउन छाडेपछि जिल्लाका कृषकहरुले अदुवाको विकल्प बेसारलाई लिएका हुन् । यहाँका कृषकहरुले बेसार खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । बेसारबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको तिनाउ गाउँपालिकाको कोलडाँडा, कचल, मस्याम, रिब्दीकोटको पालु·मैनादी, फेक, कुसुमखोला, भैरवस्थान, माथागढीको गोठादी जस्ता तीस भन्दा बढी गाउँमा बेसार लगाउन छोडेर व्यवसायिक बेसार खेती सुरु गरेका छन् । यहाँका स्थानीयले कुल खेती योग्य क्षेत्रफल मध्ये ८ सय ५० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा बेसार खेती गर्दै आइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए । आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेतीतर्फ कृषकहरु आकर्षित भएका छन् । स्थानीय बजारमै १ सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा बेसार विक्री हुने भएकाले पनि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण गाउँका सबै युवा कमाइ गर्न भारतका विभिन्न ठाउँमा जाने गरेका छन् । तर अहिले बेसार खेतीबाट राम्रो आम्दानी हुन थालेपछि भने धेरै युवाहरु गाउँमै बसेका छन् ।

अन्य खेतीको तुलनामा बेसार खेती अहिले बरदान साबित बन्दै गएको माथागढी गाउँपालिका गोठादीका कृषक शेरबहादुर रानाले बताए । उनले गत वर्ष बेसारको गाना विक्रीबाट मात्रै ४ लाख आम्दानी गरेको बताउँछन् । सबैको भान्सामा अनिवार्य रुपमा प्रयोग हुने भएकाले बेसरको माग अत्याधिक हुने गरेको रानाले बताए । रामपुर क्षेत्रमा ५० जना भन्दा बढी कृषकहरुले व्यवसायिक रुपमा बेसार खेती गरेको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । निस्दी गाउँपालिकाको झिरुवासका कृषक खुमबहादुर सारुले पनि अदुवाबाट भन्दा बेसार खेतीबाट दोब्बर आम्दानी गरेको बताउँछन् । उनले यस वर्ष दस लाख रुपैंयाँ आम्दानी गर्ने लक्ष्य राखेको बताए । यस क्षेत्रका कृषकहरुले बेसार बिक्रीबाट ५० लाख रुपैंया भन्दा बढी भिœयाउने गरेका छन् । सत्यवतीका कृषक नारायण खनालले विगत ३ वर्षदेखि व्यवसायिक रुपमा लगाएको बेसारले वैदेशिक रोजगारीलाई जितेको बताउँछन् । वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको उनले बताए । बेसार खेतीको प्रर्वद्धनका लागि स्थानीय सरकारले सहयोग गरेका कारण पनि कृषकहरु थप उत्साहित भएका छन् । रिब्दीकोट गाउँपालिकाले व्यवसायिक रुपमा बेसार खेती गर्ने कृषकलाई बेसार पिस्नी मेसिन सहयोग गर्दै आएको छ ।

गत वर्ष ३ जना व्यवसायिक कृषकहरुलाई मेसिन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । बेसार खेतीबाट राम्रो आम्दानी हुने भएकाले स्थानीय कृषकहरुको आर्थिक समृद्धिका लागि स्थानीय सरकारले कृषकहरुलाई सहयोग गर्दै आएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले गाउँपालिकालाई बेसार खेतीको पकेट क्षेत्रका रुपमा समेत विस्तार गर्ने गरी आफुहरु अगाडि बढेको बताए । कृषि ज्ञान केन्द्रले अदुवा जस्तै जिल्लाको बेसारले ख्याति पाउन थालेको जनाएको छ । बेसार तरकारी, अचारमा राखेर राम्रो बनाउने मात्र होइन । चिकित्सा विज्ञानमा बेसारको महत्वपूर्ण योगदान र स्थान छ । रुवा, खोकी, ज्वरो नियन्त्रणमा उल्लेखनीय योगदान छ । त्यसैगरी भाचिएको हड्डी जोड्न र मानव स्वास्थ्यमा समेत बेसारले एन्टीवायोटिकको काम गर्ने कसेनी स्वास्थ्य चौकीका प्रमुख गोविन्द भट्टराईले बताए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update