Shittalpati
किसानलाई घाँसको बीउ वितरण

स्याङ्जा । व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि गल्याङ नगरपालिकाले किसानलाई घाँसको बीउ वितरण गरेको छ । नगरपालिकाको पशुसेवा शाखाको समन्वयमा किसानलाई घाँसको बीउ वितरण गरिएको हो । पशुपालन गर्दै आएका किसानका उत्पादनमा सहयोग पुगोस् भनेर नगरपालिकाले किसान लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र सोही अभियान अन्तर्गत घाँसको बीउ वितरण गरिएको नगर प्रमुख भूपराज अधिकारीले बताए ।

नगर प्रमुख अधिकारीले भने,“दूध र मासुमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार काम गरिरहेका छौँ, त्यसैले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिनाका साथै पशुपालनका लागि आवश्यक पर्ने घाँसको बीउ पनि वितरण गरेका हौँ ।” नगरपालिका पशुसेवा शाखा प्रमुख सुशील अर्यालले दूध तथा मासुको उत्पादनलागत घटाउन उन्नत जातका घाँसको बीउ वितरण गरिएको जानकारी दिए । हिउँदे घाँसअन्तर्गत जै र वर्र्षम जातका घाँसका बीउ वितरण गरिएको पशुसेवा शाखाले जनाएको छ । नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर रु १५ का दरले अनुदान दिन थालेपछि उनीहरु व्यावसायिक पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । -रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update