Shittalpati
ट्रक दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।

उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । –रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update