Shittalpati
किसानलाई धान स्याहार्ने चटारो

रामचन्द्र रायमाझी /रमेश विश्वकर्मा
पाल्पा । यतिबेला पाल्पा र गुल्मीका किसानहरु धान स्याहार्न व्यस्त छन् । विजया दशमी सकिएलगत्तै कृषकहरू धान स्याहार्न व्यस्त देखिएका हुन् । तिहार अगाडि नै यहाँका अधिकांश ठाउँमा धान स्याहार्ने काम सकिन्छ । पाल्पाको अन्नभण्डार भनेर चिनिने माडीफाँटको पोखराथोक, कसेनी, मदनपोखरा, चिर्तुङधारा, सराई, रुप्से, चिदीपानी, तानसेनको अर्गली लगायतका खेतमा यतिबेला किसानहरुलाई धान काट्ने चटारो छ । किसानहरु धान काट्न, मुठा बाध्न, उठाउनमै व्यस्त छन् । कसैले खेतमै धान झारिरहेका छन् । केहीले थ्रेसरबाट पराल र धान छुट्याइरहेको देखिन्छ । धान स्याहार्न यहाँका किसान बिहानैदेखि बेलुकी अबेरसम्म व्यस्त देखिन्छन् । चिदीपानीका किसान मधु काफ्ले खेतमा धान स्याहार्नमै व्यस्त छन् । कात्तिक महिनाको सुरुदेखि नै खेतमा पहेलै धान पाक्न थालेको उनले बताए । काफ्लेले भने ‘यसवर्ष दसैं पर्व र धान पाक्ने समय एकैपटक भएकाले दसैँ पर्व मनाएर धान काटन् थालिएको हो ।’

खहरेका सुर्य बहादुर रायमाझीलाई पनि अहिले धान स्याहार्ने चटारो छ । धान काटेर सकिए पनि थ्रेसरको प्रयोगले धान झार्ने, केलाएर घर लैजाने, पराल सुकाउने काममै आफुहरु अहिले व्यस्त रहेको रायमाझी बताउँछन् । जिल्लामा माडी, अर्गली, कचल, सर्देवा, रामपुर, पूर्वखोला लगायतका क्षेत्रमा धान खेती गरिदै आएको छ । ९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएपनि अहिले ९ हजार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यहाँका अधिकांश क्षेत्रमा धान पाकिसकेकाले अहिले भिœयाउनमै किसान व्यस्त छन् । उता गुल्मीका किसानहरुहरु पनि धान स्याहार्नमा निकै नै व्यस्त देखिएका छन् । सबै मिलेर धान काट्ने, धान झार्ने, धानको पराल र धानलाई व्यवस्थित गर्न यहाँका किसानहरु हिजो आज निकै नै व्यस्त देखिएका हुन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशबाट रोजगार गुमाएर स्वदेश फर्किएका युवाहरु समेत अहिले गाउँमै भएकाले खेतीवाली लगाउन र भित्र्याउन निकै सहज भएको यहाँका किसानहरु बताउँछन् । अहिले यहाँका किसानहरूलाई धान स्यार्न भ्याई–नभ्याई छ । जिल्लाका १२ वटै स्थानीय तहका कृषकहरु धान स्यार्नमा व्यस्त देखिएका छन् ।

जिल्लाका दर्जनौ खेतका फाँटहरुमा किसानहरु धान स्याहार्नमा व्यस्त देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सनबहादुर रानाले बताए । जिल्लामा रासायनिक मलको अभाव भए पनि गतबर्ष भन्दा यो वर्ष पानी पर्याप्त मात्रामा परेकाले धान उत्पादनमा वृद्धि हुने किसानहरु बताउँछन् । ईस्मा गाउँपालिका ६ अमरपुरका किसान थम्मन बस्नेतले अहिले खेतमा धान रोप्न र स्याहार्न पहिले जस्तो त्यति अप्ठ्यारो नभएको बताए । कोरोना भाइरस (कोभिड–१९) का कारण शहरबजारमा भएका सबै गाउँ फर्किए अनि सबैले मिलिजुली काम गरियो उनले भने,‘सहज रुपमा धान पनि रोपियो, अब सहज रुपमै हामीले धानलाई घर भित्र राख्दै छौं । सबैले यसरी काम गर्दा हामीलाई निकै सहज भयो ।’


त्यस्तै सोही स्थानका अर्का किसान गोरे विकले चौरासी फाँट मै खेत अधियाँमा गर्दै आएका छन् । उनी पनि धानलाई स्याहार्न निकै व्यस्त देखिएका छन् । ‘आफुले १२ वर्षसम्म खेत अधियाँमा गरियो गत वर्ष गरिएन् अहिले फेरि खेत अधियाँमा गरेको छु ।’ विकले भने ‘पहिले भन्दा अहिले धान पनि अलि राम्रो फलेको छ । हामी सबै घरैका मिलेर काम गर्दै आएका छौं ।’ अर्का किसान धुर्कोट गाउँपालिका ३ बेल्टारीका रामु खड्का पनि अहिले धान स्याहार्न मै व्यस्त देखिएका छन् । उनी धान र पराल स्याहार्न काममा निकै व्यस्त छन् । मदाने गाउँपालिका १ अग्लुङ्गका धनबहादुर विश्वकर्मा पनि धान भित्र्याउन मै व्यस्त छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update