Shittalpati
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् । समय मै पानी परी समय मै रोपाइँ सकिएपनि धान पसाउने बेलामा अनावश्यक रुपमा वर्षाद् भएकाले उत्पादनमा केही गिरावट आउन सक्ने कृषि विज्ञ तथा कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्याल बताउँछन् । उनी भन्छन् ‘धान पसाउने बेलामै निरन्तर वर्षाद् भएको र केही स्थानमा गवारो र पोके किराको समस्या देखिएकाले यस वर्ष धानको उत्पादन राम्रो नभएको हो ।’ जिल्लाका अधिकांश क्षेत्रमा लगाइएको धानमा दाना लाग्ने समयमा गवारो र पोके रोग लागेपछि उत्पादनमा ह्रास आउने देखिएको छ । हाइब्रिड धानमा कालो पोके रोग लागेपछि धानको दाना नलाग्ने, लागेको दाना नबढ्ने र पुष्ट दाना भएकाले औसतमा उत्पादन कम हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले एनजेडीसँगको कुराकानीमा बताए ।

‘धानका लागि गवारो र कालो पोके खतरनाक रोग हो’, अर्यालले भने, ‘यसपाली केही स्थानमा गवारो र पोके देखिएकाले धान उत्पादन घट्ने निश्चित छ ।’ केही स्थानमा उत्पादन राम्रो भएपनि केही स्थानमा भने कीराको प्रकोपले धानमा क्षति पु¥याएको छ । पानी समयमै परेकाले पनि विगतका वर्षहरु भन्दा यसवर्ष बढी क्षेत्रमा रोपाइँ भएको थियो । विगतमा ९० प्रतिशत मात्र रोपाइँ हुने गरे पनि यस वर्ष कोभिड १९ र पर्याप्त वर्षाद्का कारण ९६ प्रतिशत रोपाइ भएको हो । गत वर्ष भन्दा उत्पादन नघटे पनि रोपाइँको तुलनामा उत्पादनमा गिरावट आउने देखिएको अर्यालको भनाई छ । उनले भने ‘विगतमा जनशक्ति अभावमा बाँझो रहेका खेतहरु समेत कोभिडका कारण सबै परिवार एकै ठाउँ हुँदा रोपाइँ हुन पुग्यो, जसले गर्दा रोपाइँको प्रतिशत बढे पनि बेमौसमी वर्षाद् र रोगको प्रकोपकले गर्दा औसतमा दुई प्रतिशत जति उत्पादनमा गिरावट आउन सक्छ ।’ दोस्रो मुख्य खाद्यान्न बालीका रुपमा रहेको धानलाई पछिल्लो समयको बेमौसमी वर्षाद्का कारण र धान बालीका लागि समय मै आवश्यक पर्ने रासायनिक मलको अभाव भएकाले पनि विगतका वर्षहरुको तुलनामा यसवर्ष धानको उत्पादनमा कमी आउने कृषकहरुको अनुभव छ ।

जिल्लाको अन्न भण्डारको रुपमा रहेको माडी, अर्गली, कचल, सर्देवा, रामपुर, पूर्वखोला लगायतका क्षेत्रमा धान खेति गरिदै आएको छ । ९ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएपनि अहिले ९ हजार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । स्थानीय, उन्नत जातको बिउ प्रयोग गरी खेति गरिए पनि मौसम र रासायनिक मलको अभावका कारण पनि उत्पादनमा ह्रास आएको हो । समयमै वर्षाद् भएका कारण उत्साहित भएका जिल्लाका कृषकहरु यतिबत्रेला धानको उत्पादनमा ह्रास आएपछि निरास बनेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update