Shittalpati
वडा अध्यक्षद्वारा कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति काँग्रेसको ध्यानाकर्षण

पाल्पा । आफ्ना कार्यकर्ता माथि भएको कुटपिटको घटनाप्रति नेपाली काँग्रेस निस्दी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार निस्दी गाउँपालिका ५, गल्धामा वडा अध्यक्षद्वार आफ्ना कार्यकर्ताको कुटपिट भएको घटनाप्रति काँग्रेसले एक विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएको हो ।

वडा अध्यक्ष भिमबहादुर थापा(बयम्बु)ले आफ्ना कार्यकर्ताहरुमाथि कुटपिट गरेको काँग्रेसले जनाएको छ । शनिबार काँग्रेस निस्दी गाउँपालिकाका सभापति शालिकराम पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तीमा वडा अध्यक्षबाट कुटपिट भएको घटना निन्दनीय भएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो । वडा अध्यक्षका भाइ सन्तबहादुर थापा (बयम्बू) र गीमबहादुर जर्घालाई नेपाली कांग्रेसमा प्रवेश गरी क्रियाशील भएको निहुँमा वडा अध्यक्ष थापाले मरणासन्न हुनेगरी कुटपिट गरेको काँग्रेस निस्दीले जनाएको छ । उनले यस अघि पनि भाइ सन्त बहादुर र गीमबहादुरलाई नेपाली कांग्रेसमा प्रवेश गरेकोमा पाटीबाट राजिनाम दिन धम्की दिंदै आएको जनाइएको छ ।

‘हरेक व्यक्तिलाई आफ्नो इच्छा अनुसार राजनीतिक दलमा सहभागी हुन पाउने मौलिक हक हुँदा हुंदै कार्यकर्ताहरु माथि भएको कुटपिटको यो घटनाप्रति हामी घोर निन्दा गर्दै तत्काल वडा अध्यक्ष थापालाई कानुनी कारवाही अगाडि बढाउन स्थानीय प्रहरी प्रशासनसँग जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ ।

निस्दी गाउँपालिकामा नेकपा तथा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुबाट बहुमतको दम्भमा प्रतिपक्षका कार्यकर्ताहरुलाई धम्क्याउने, राजनीतिक पूर्वाग्रहमा पालिकाको बजेट विनियोजन गर्ने, विभिन्न आर्थिक प्रलोभन देखाएर विचार परिवर्तन गर्न बाध्य तुल्याउने र कुटपिट गर्ने जस्ता घटनाहरु बढिरहेकाले यस्ता क्रियाकलापहरु तत्काल रोकी मर्यादित राजनीतिक क्रियाकलापहरु सञ्चालन गर्न समेत काँग्रेसले नेकपा गाउँ कमिटिको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update