Shittalpati
प्रदेश नम्बर पाँच अब लुम्बिनी, राजधानी देउखुरी

बुटवल । प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा मंगलबार पारित भएको छ । प्रदेश सभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरेका हुन् । मंगलबार प्रदेश नं ५ ले औपचारीक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा देउखुरी राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिए । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बसेका थिए । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी भएका थिएनन् । प्रदेश सरकारका तर्फबाट यही असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गरेका थिए । त्यसैगरी प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै प्रस्तावमा मत हस्ताक्षर गरेर मत विभाजन भएको थियो । उक्त प्रस्ताव माथि प्रदेशसभामा विपक्षी दल नेपाली काँग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभा मंगलबारको बैठकमा मत विभाजन हँुदा दुइ तिहाइ मतले सरकारको प्रस्तावलाई पारित गरेको हो । –रासस

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update