पाल्पा । प्रदेश पाँचको स्थायी राजधानीका लागि दाङको राप्ती गाउँपालिका स्थित भालुवाङमा रहने गरी शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेसंगै बुटवलमा विरोध प्रदर्शन गरिएको छ ।
प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि रुपन्देही कांग्रेसका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने उनीहरुको माग छ । कांग्रेस जिल्ला सभापती अब्दुल रज्जाकद्वारा विज्ञप्ति जारी गर्दै बहुसंख्यक जनताको केन्द्र, पूर्वाधारका हिसाबले उपयुक्त रुपन्देहीबाट राजधानी सारेर दाङ लैजाने नेकपा सरकारको निर्णयप्रति कठोर आन्दोलन सुरु भएको जनाएका छन् ।
विरोध प्रदर्शनका क्रममा आन्दोलनकारीहरुले सडक टायर समेत बालेर प्रदेश नं. ५ को स्थायी राजधानी रुपन्देहीलाई तोक्नुपर्ने आवाज उठाएका छन् । साथै उनीहरुले दाङलाई नै स्थायी राजधानी तोकिए चरणवद्ध रुपमा आन्दोलन गर्ने जनाएका छन् । प्रदेशको नाम लुम्बिनी रहने गरी प्रदेश सभामा प्रस्ताव पेश भएको हो । यसैबीच, नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारण सम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका विभिन्न स्थानमा टायर बालेर नारा जुलुस सुरु गरेको हो ।


