Shittalpati
सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो

पाल्पा । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड एकतर्फी खुलेको छ । सडक खुलाउने लामो प्रयासपछि आइतबार ३ बजेदेखि एकतर्फी खुलेको हो । अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार दिउसोदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख पृथ्वी काफ्लेले बताए । सडक एक तर्फी खुलेपछि रोकिएका सवारी सधानहरु गन्तव्यतर्फ लागेका छन् ।

अविरल वर्षासँगै तानसेन बुटवल सडकको दर्जनौं स्थानमा खसेको पहिरोले राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको थियो । राजमार्गको डुम्रे, कालीमाटी चर्चरे, हिउदेखोला, झुम्सा, सिसुवा, दोभान तथा सिद्धबाबा क्षेत्रमा ठूला ठूला ढुङ्गासहित खसेको पहिरो डोजरले समेत हटाउन नसक्दा तीन दिनसम्म तानसेन बुटवल सडक ठप्प भएको हो । झुम्सादेखि बुटवलसम्मको क्षेत्रको पहिरो शनिबार बेलुकी अबेरसम्म हटाइए पनि सिसुवा, पानी मिललगायत स्थानको पहिरो पन्छाउन सकिएको थिएन । सडक डिभिजन कार्यालयको समन्वयमा केही पहिरो हटाएर एकतर्फी बाटो खुलाइएको छ । शनिबार दिनभर पहिरो पन्छाउने काम भएपनि अधिकांश स्थानमा ठूलाठूला ढुङ्गासहित पहिरो खसेकाले आइतबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु गरिएको थियो । डिभिजन सडक कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । डिभिजनसँग पर्याप्त ब्रेकर नभएको कारण ढुङ्गा फुटाल्न समस्या भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update