Shittalpati
सिद्धार्थ राजमार्ग अझै खुल्न सकेन

पाल्पा । पहिरोका कारण तीन दिनदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्ड अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार विहानसम्म पनि खुल्न नसकेको हो । अविरल वर्षासँगै तानसेन बुटवल सडकको दर्जनौं स्थानमा खसेको पहिरोले राजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको हो । राजमार्गको डुम्रे, कालीमाटी चर्चरे, हिउदेखोला, झुम्सा, सिसुवा, दोभान तथा सिद्धबाबा क्षेत्रमा ठूला ठूला ढुङ्गासहित खसेको पहिरो डोजरले समेत हटाउन नसक्दा तानसेन बुटवल सडक ठप्प भएको छ ।

झुम्सादेखि बुटवलसम्मको क्षेत्रको पहिरो शनिबार बेलुकी अबेरसम्म हटाइए पनि सिसुवा, पानी मिललगायत स्थानको पहिरो पन्छाउन नसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । शनिबार दिनभर पहिरो पन्छाउने काम भएपनि अधिकांश स्थानमा ठूलाठूला ढुङ्गासहित पहिरो खसेकाले आइतबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले बताए । डिभिजन सडक कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने काम भएपनि डिभिजनसँग प्रयाप्त ब्रेकर नभएको कारण ढुङ्गा फुटाल्न समस्या भएको पाल्पा प्रहरीले जनाएको छ । आइतबार अपराह्न ३ बजेसम्म पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update