Shittalpati
पाल्पाका ठाउँ–ठाउँमा पहिरो : मानवियसँगै भौतिक क्षति

पाल्पा । तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण पाल्पाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ । जिल्लाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् भने एक जनाको शव भेटिएको छ । फोक्सिङ्कोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिसरा गाहाको शव भेटिएको हो । उनी गर्भवती महिला रहेको बुिझएको छ । स्थानीय र प्रहरीको खोजीकार्यपछि उनको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी १४ वर्षीया अञ्जु पुन सामान्य घाइते भएकी छन् ।

त्यस्तै निरन्तरको अविल वर्षाले विहिबार विहान पहिरोले फोक्सिङकोट बेलौजाका तीन घर पुरिएका छन् । स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ५ जना बेपत्ता भएको वडा अध्यक्ष उमानसिंह सारुले बताए । विहान ४ बजे तिर गएको पहिरोमा परी सुतिरहेका हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष सारूले बताए ।उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन् । अहिले स्थानीय र प्रहरीको सहयोगमा बेपत्ता उनीहरुको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै पहिरोका कारण बगनासकाली गाउँपालिका ४ तिखुम बस्ने रुक बहादुर चर्तिको कच्ची गोठमा क्षति पुगेको छ । पहिरोले गोठमा क्षति पुर्‍याउदाँ गोठमा रहेका २ वटा भैँसी र ३ वटा बाख्रा मरेका छन् । रामपुर नगरपालिका १ हागेपिपल बस्ने प्रेम बहादुर सार्कीको गोठ पनि पहिरोका कारण भत्किएको छ । गोठ भत्किदा गोठमा रहेको १ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ । यस्तै तिनाउ गाउँपालिका ६ कोस बस्ने चित्र रावलको पहिरोको कारणले गोठ र ट्वाईलेट भत्किएको छ । गोठ भत्किदा गोठमा रहेका ४ ओटा बाख्रा मरेको प्रहरीले जनाएको छ । यस्तै पहिरोका कारण माथागढी गाउँपालिका ४ केरौली नजिकै रहेको चित्रेछाप प्राबिको ४ कोठे भवनमा क्षति भएको छ । माथागढी ४ केरौलीमै स्थानीय हुम बहादुर सारुको गोठ समेत पहिरोले पुरिएको छ । गोठ पुरिदा गोठ भित्र रहेका ४ वाट बाख्रा मरेका छन् । यस्तै रैनादेवी छहरा गाउँपालिका २, सोमादी बासखर्कका बेलबहादुर श्रेष्ठको कुखुरा फर्ममा पहिरो जाँदा ७५ वटा बोइलर कुखुरा मरेका छन् । उनको दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update