कृष्ण पोखरेल
पाल्पा । पाल्पा बसपार्कमा छ महिनादेखि थन्किएका गाडीका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका गाडीका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् । कोरोना महामारीका बेला भएको बन्दाबन्दीले यातायात मजदुर घरमा छन्, जसले गर्दा रोकिएका गाडी ‘स्टार्ट’ समेत गरिएको छैन । गाडी ‘स्टार्ट’ समेत नहुँदा ब्याट्री बसिसकेको छ भने इञ्जिनमा खिया लागिसकेको छ । पार्किङ्ग स्थल सधैँ चिल्लो हुन्थ्यो । बसको ओहोर दोहोरले वरीपरीको माटो माडिन्थ्यो झारपात उम्रिन पाउदैनथ्यो तर अहिले पार्किङ्ग गरेको बसको वरीपरी झारपात उर्मिएको छ । झारपात हुर्किदै बस बसको छत छतसम्म पुगेको छ । बसका टायर माटो घाम पानीले कमाक्किएका छन् । पाटपूर्जामा खिया लागिसेको छ ।
६ महिनादेखि थन्किएका बस एक वित्ता पनि डगेका छैन । ६ महिनासम्म नचलेका करोडौंका गाडी अब चल्छन् की चल्दैन थाहा छैन । दुई/चार दिनका लागि भन्दै घर गएका चालक ६ महिना हुँदासम्म फर्किने वातावरण छैन । बस नचले पनि बसधनीलाई दिनहुँ बैकबाट किस्ता तिर्न ताकेता आइरहन्छ । बारम्बारको बैंक ताकेता सहन नसकी सवारी धनीहरुले सवारीसाधनै जफत गर्न बैंकलाई जवाफ दिन थालेका छन् । यो पीडा दिनहुँ थपिदै गएको लामो दुरीका सवारी धनीहरुको हो । तानसेनका विकास भट्टराईको पाल्पा–काठमाडौ चल्ने ३ वटा बस रोकिएको ६ महिना भन्दा बढी भयो । ‘चैत्र ८ गतेदेखि रोकिएको टुरिष्ट बस ६ महिना हुँदासम्म एकवित्ता पनि चलेका छैनन् । बर्षात्को पानीले बसका व्याट्री पूर्णरुपमा ड्यामेज भएका छन्, टायर चलाउन नमिल्ने गरी विग्रिएका छन्, भित्रका पार्टपूर्जामा खियाँ लागेको छ, लामो समयसम्म नचलाउदा ईन्जिन नै बिग्रदै गएको छ । दिनहुँ स्टाट गरेर राखु भन्न चालक घरमा गएको छ । दिनहुँ विहान र साझ एकपटक बस हेरेर पीडा माथि पीडा थप्ने काम भएको छ । यो अवस्थाले सवारी साधनमा मात्र होइन स्वच्छ जीवनमै खिया लाग्यो’ सवारीधनी भट्टराई भन्छन् । सरकारले एउटा नियम भन्छ तर प्राईभेट बैकहरुले सरकारको नियम विपरीत ऋणको लागि ताकेता गरेको भट्टराईको गुनासो छ । यो पीडा सवारीधनी विकासको मात्र होइन हजारौ सवारी धनीहरुको पीडा हो ।
कोरोनाको त्रासका कारण बटुवाहरु महिनौ लगाएर पैदल हिडे तर सवारी साधन चलेनन् । हामीले त सरकारको आदेश पालन गर्यौ, कोरोना नफैलियोस् भनी सरकारलाई सहयोग गर्यौ, तर आज हामीलाई सरकारबाटै कुनै सहयोग र राहत मिलेको छैन । करोडौ ऋण काढेर सञ्चालन गरेको व्यवसाय आज कवाडी खानामा परिणत भएको छ । बैंकले ब्याजको किस्ता नबुझाउँदासम्म घरमै आउने वातावरण भएपछि मर्न भन्दा बहुलाउन निको भनेझै साहुहरुसँग २४ प्रतिशत ब्याजमा ऋण लिएर बैकमा किस्ता बुझाएको सवारीधनी विकास भट्टराईले बताए । यातायात व्यवसायी ढालबहादुर खड्काका ठूला साना ४ वटा बस छन् । चैत्रदेखि ५ महिनाको अवधीमा एकदिन पनि बस चल्न पाएका छैनन् । बैंकको ऋणले खड्कालाई दिनहुँ पिरोलेको छ । बैठक ऋणको ताकेकाले खड्का रातमा समेत राम्रोसँग सुत्न पाउँदैनन् । रातदिन बैंकको किस्ताले सताउने गरेको खड्का बताउँछन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि पुन सवारी साधन जहाँको त्यही राख्नुपर्ने बाध्यता आएपछि सवारीधनी चिन्तित भएका छन् । करोडौ रुपैयाँ ऋणधन गरेर बस किनियो तर त्यही आम्दानीबाट घरपरिवार चलाउने साधनमा आज खिया लागेको छ, खै खिया लागेरै सड्ने भयो सवारीधनी खड्काले बताए । सरकारले एक महिनाको अवधीसम्म लकडाउन हटाउँदा साना सवारी साधन छिटपुट रुपमा सञ्चालनमा आएपनि ठूला सवारी साधन एक दिन पनि चल्न पाएनन् । भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन चलाउने निर्णय गरेको सरकारले कोरोना संक्रमण बढेको भन्दै असोज १ गतेदेखि मात्र लामो दुरीका सवारी साधन चलाउने निर्यण गरेपनि व्यवसायीसँग बस मर्मत गरी सडकमा ल्याउने पैसा पनि छैन । सवारी धनीसँग भएको पैसा बैंकमा तिर्दा तिर्दा सकिएको छ । कोरोनाको कारण सबै व्यवसायी टाट पल्टेका छन् ।
ग्यारेज, पार्किङ्ग, तथा घरमा थन्किएका लामो दुरीका बस सडकमा ल्याउदा मर्मतका लागि मात्र दुईदेखि ढाईलाखसम्म खर्च आउने नेपाल यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक डिलबहादुर ढुङ्गानाले बताए । सवारीसाधन मर्मत नगरी चलाउने अवस्था छैन, पाँच महिना भन्दा बढी समय सवारीसाधन नचलाउदा अधिकांश पाटपूर्जा बिग्रिएका छन्, ईञ्जिन समेत मर्मत गर्नुपर्ने अवस्थामा सवारीधनी पुगेकाले सरकारले तत्काल पाँच लाख रुपैयाँसम्म सवारी धनीहरुलाई बिना ब्याज ऋणको व्यवस्था गर्नुपर्ने संयोजक ढुङ्गानाले बताए । पाल्पामा पश्चिम नेपाल बस सेवा प्रालिका मात्र १ सय १० वटा लामा तथा छोटा बस चल्दछन् भने श्रीनगर यातायात सेवा प्रालिका लामो तथा छोटो दुरीका ५० भन्दा बढी बस ग्राउण्डेड भएका छन् ।


                                        
                                        
                                        
                                        
                    
                    
                    