पाल्पा । प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । प्रदेश पाँचका दाङ, रुपन्देही, गुल्मी, बाँके, नवलपरासीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको हो । प्रादेशिक प्रहरी कार्यालयका अनुसार दाङमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको ज्यामिरे दह (ताल) मा पौडी खेल्न गएका सोही वडा स्थित कलमघारीका २२ वर्षिय युवक जीवन बुढाको डुबेर मृत्यु भएको हो । साथीहरुसँग दहमा नुहाउन गएका बुढाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरु भने सकुसल रहेका छन् । रुपन्देहीको गैडहवा गाउँपालिका ८ स्थित कंन्चन खोलाको किनारमा एक व्यक्तिको शव फेला परेको छ । कटैयाका ५० वर्षका बुद्दु गुप्ता मृत अवस्थामा फेला परेका हुन् । मृतक गुप्ताको भेटिएको शव साईडमा सल्फास नामक बिषादीको खाली डिब्बा फेला परेको थियो ।
त्यस्तै रुपन्देही तिलोत्तमा नगरपालिका १४ टिकुलीगढ स्थित कुलोमा नामथर वतन नखुलेको एक पुरुषको शव फेला परेको छ । घोप्टो परेको अवस्थामा उक्त व्यक्तिको मृत अबस्थामा शव फेला परेको हो । गुल्मीको सत्यवती गाउँपालिका १ रुद्रवेणी स्थित बडिगाड खोलामा एक महिलाको शव फेला परेको छ । खोलाको बिचमा नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी महिलाको लास सडेको अबस्थामा फेला परेको प्रादेशिक प्रहरीले जनाएको छ ।
त्यस्तै बाँकेको कोहलपुर नगरपालिका ११ लोकनगरमा विषादी सेवनबाट एक व्यक्तिको मृत्यु भएको छ । सोही स्थानका ७० वर्षीय जुहारीलाल थारुले मुसा मार्ने विषादी सेवन गरी विारमी परेका थिए । विरामी भएका उनलाई उपचारका लागि कोहलपुर बाँकेमा लगिएकोमा मृत्यु भएको थियो । नवलपरासी बर्दघाट नगरपालिका ११ केराबारीमा खोलामा डुवेर एक महिलाको मृत्यु भएको छ । सोही स्थान बस्ने इन्द्रजित कुमालको श्रीमती ६१ वर्षीया बेल कुमारी कुमालको घरपछाडी अलौली खोलामा डुवेर मृत्यु भएको हो ।


