Shittalpati
ढोरपाटन बाढी अपडेट : १६ अझै बेपत्ता, खोजीकार्य जारी

बागलुङ्ग । ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन् । बुधबारसम्ममा मृतकको संख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजी कार्य जारी रहेको बताए । ‘खोलाको बहाव पनि घट्दै गएकाले अब थप सहज हुन्छ, खोजी कार्य अहिल्यै रोकिन्न’, उनले भने । खोलाको सतह घटेपछि बुधबार तीन र मङ्गलबार दुई शव फेला पार्न सकिएको उनको भनाइ छ । प्रहरीले छिमेकी गुल्मी जिल्लाको बडिगाड खोलासम्म पुगेर शवको उद्दार गरेको थियो । बाढीले शव बगाएर कैयौँ किलोमिटर तलसम्म पुर्‍याएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

बाढीको घटनालगत्तै नेपाली प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी खोजी र उद्दारमा खटिएका थिए । ढोरपाटन नगरपालिका–९ मा खसेको पहिराले भूजीखोला थुनिँदा बाढीको रूप लिएको थियो । सोही वडामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । वडा नं. ७ र ८ पनि बाढीबाट प्रभावित छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा वडा नं ९ का २१ वर्षीया टेकमाया विक, १५ वर्षीय समुन्द्र विक, एक वर्षीया तिर्सना विक, १५ वर्षीया मनिषा विक, नौ वर्षीय रोशन विक, चार वर्षीय रवि विक, छ वर्षीया प्रतीक्षा विक र ३१ वर्षीय जीतबहादुर विक रहेका छन् । यस्तै सोही वडाका २२ वर्षीया मनकुमारी विक, छ वर्षीया प्रकृति पुन, १० महिने शिशु उमिसा विक, ३८ वर्षीया हस्तमाया विक, ५६ वर्षीया कौशिला पुन, २१ वर्षीय विशाल पुन, आठ वर्षीय मोहन विक र ६५ वर्षीया तुलमती घर्ती बेपत्ता छन् । बाढीले ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । सडक, पुल, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत् आयोजनालगायत सयौँ भौतिक संरचनामा क्षति पुगेको छ । बाढी प्रभावितको राहत र पुनःस्थापनाका लागि देशविदेशबाट स्वःस्र्फूत रूपमा सहायता जुट्ने क्रम जारी छ । संघ र प्रदेश सरकारले मृतकका परिवारलाई राहत रकमसहित क्षतिग्रस्त घर पुनःनिर्माणमा सघाउने भएको छ । सरकारी निकायसँगै जनस्तरबाट समेत राहत संकलनमा सक्रियता बढेको छ । संकलित राहतलाई एकद्वार प्रणालीमार्फत बाढी प्रभावित परिवारलाई हस्तान्तरण गरिने ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताईन् । –रासस

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update