पाल्पा । प्रदेश पाँचमा भएका छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गुल्मी, रोल्पा, र रुपन्देहीमा भएका घटनामा तीन जनाको मृत्यु भएको हो । गुल्मीको चन्द्रकोट गाउँपालिका ८ रामपुर स्थित बडिगाड खोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको किनारमा नामथर नखुलेकी अन्दाजी ३० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै रोल्पामा पनि एक महिला मृताअवस्था फेला परेकी छन् । रोल्पा जिल्लाको रोल्पा न.पा.१० धाङसी खोलाको बिचमा स्थानीय बर्ष ५९ की मनकला बिकको शव फेला परेको प्रहरीले जनाएको छ । घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेकी उनी मृत फेला परेकी हुन् । यो घटनाबारे पनि अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ ।
त्यस्तै बिषादी सेवनबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका २ कचरिहवा बस्ने ४८ वर्षीया ईन्द्रवती चाईले आफ्नै घरमा सल्फास नामक बिषादी सेवन गर्दा विरामी भएकी थिईन । विरामी उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएकोमा मृत्यु भएको जनाइएको छ


