Shittalpati
पाल्पामा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएसी)को सहित सर्वपक्षीय बैठकले शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो । जिल्लामा पहिलो चरणमा भदौ ५ गते मध्यरातिदेखि भदौ १२ गतेसम्म निषेधाज्ञा लागु गरी पुनः भदौ १२ गते रातीदेखि एक हप्ताको लागि निषेधाज्ञा थप गरिएको थियो । थपिएको निषेधाज्ञा शुक्रबार राती १२ बजेदेखि सकिने छ ।

निषेधाज्ञा हटाइए पनि छिमेकी जिल्लामा देखिएको बढ्दो संक्रमण र जिल्लाको वर्तमान अवस्थालाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड भने कडाइका साथ पालना गराउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘पाल्पामा कोरोना संक्रमण बढ्दै गए पनि जनजीवन र विकास निर्माणमा परेको असरलाई दृष्टिगत गरी खुकुलो बनाइएको हो, बढी नै जोखिम भए आवश्यकता अनुसार कडाई गर्छौं,’ उनले भने,‘तत्कालका लागि सीमा नाकामा कडाइ गरेर जिल्लाभित्र केही खुकुलो बनाएका हौं ।’ दैनिक जीवनयापन पनि सञ्‍चालन गर्नपर्ने र लगातार बन्द गर्दा कार्यालयबाट प्राप्त हुने सेवाबाट सेवाग्राही समेत वञ्चित भएकाले निषेधाज्ञा हटाउनु परेको प्रजिअ न्यौपानेले बताए । उनले निषेधाज्ञा हटाइए पनि सर्तकता अपनाउन सर्वसाधारणमा अपिल गरेका छन् ।

निर्णयअनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बजार खुल्न पाउने छन् । उद्योग, व्यापार, व्यवसाय, फसल, डिपार्टमेन्ट स्टोर, रेष्टुरेण्टबाट हुने प्याकिङ र टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । त्यस्तै स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, कृषि, पशुपन्छी व्यवसाय (उत्पादन देखि विक्री वितरण सम्मका सबै श्रृङखला), विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सम्बन्धी सेवा, फोहोरमैला व्यवस्थापन लगायत ढुवानी सेवा, विकास आयोजना र निर्माण कार्य सञ्चालन हुने छन् । स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अन्य सबै प्रकारका पसलहरु भने बेलुका ५ बजेदेखी बिहान ७ बजेसम्म बन्द रहने छन् । निजी सवारी चले पनि सार्वजनिक यातायातमा भने रोक लगाइएको छ । जिल्ला भित्रमात्र आवगमन गर्ने निजी सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन हुने छन् । पहिलो दिन २० गते जोर नम्वरका गाडी चल्ने छन् । सञ्चालनमा आउने सवारी साधनहरु बेलुकी ७ बजेदेखि विहान ५ बजेसम्मका लागि भने बन्द रहने छन् ।

अन्य सरकारी कार्यालय, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीका सेवा नियमित सञ्चालन हुने छन् । सरकारी, सार्जजनिक र बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरुले भने संक्रमणको जोखिम तथा भिडभाड नहुँने सुनिश्चतता गरी आवश्यकतानुसार कुपन प्रणाली, निश्चित क्षेत्रलाई पालो अनुसार सेवा उपलब्ध गराउने व्यवस्था वा सिफ्टको प्रबन्ध मिलाई सो को लिखित जानकारी जिल्ला प्रशासन कार्यालयलाई गराउनु पर्नेछ ।

शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन, तालिम केन्द्रहरु),सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थल तथा स्पा, सैलुन तथा ब्युटी पार्लर,समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल र सार्वजनिक स्थानमा हुने पर्व, जात्रा, जमघट गर्न भने पाईने छैनन् ।

कोरोना संक्रमितको संख्या उच्च रहेको जिल्ला तथा क्षेत्रबाट आवातजावतलाई कडाईका साथ नियन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । अत्यावश्यक काम लिएर आउजाउ गर्नेले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने जिल्ला प्रशासनले जनाएको छ । जिल्ला बाहिरबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नु पर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update