Shittalpati
बागलुङ बाढी : १२ जनाको शव निकालियो, ४१ बेपत्ता

गलकोट । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा १२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दा सम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । यस्तै बाढीमा बेपत्ता हुने ४१ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ताको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । घटनास्थलको क्षेत्र ठूलो हुँदा सुरक्षा निकाय र स्थानीयवासीलाई उद्दारमा समस्या भएको छ । बाह्र जनाको शव क्षतविक्षत फेला परेका कारण पहिचान गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्‍याएको छ । बाढीले स्थानीय विद्यालय, लघु जलविद्युत् तथा झोलुङ्गे पुलसमेत बगाएको छ । एकचालीस मध्येका १२ हुन् वा अन्य हुन् भन्ने विषयमा मृतकको पहिचान खुल्न नसक्दा समस्या भएको प्रहरीको भनाइ छ । मृतकमध्ये एकको मात्रै पहिचान भएको छ । कसैको खुट्टा त कसैको टाउको चुडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्दार गरिरहेका छन् । घटनामा हालसम्म चार जना घाइते भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै बुधबार राति १२ बजे आएको बाढीले बस्ती बगाएको हो ।
  तीन शव गुल्मीमा
गुल्मी– बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरामा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेका छन् । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए । बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५/४० वर्षीया महिला भएको प्रहरीले जनाएको छ । उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरामा हराइरहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।
–रासस

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update