Shittalpati
‘गरिबी अन्त्यका लागि कृषि,उद्योग र पर्यटन’

रमेश विश्वकर्मा

गुल्मी
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कृषि,उद्योग र पर्यटनको माध्यमबाट गरिबी अन्त्य गर्न सकिने बताएका छन् । उनले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि व्यवसायिक कृषि, उद्योग र पर्यटन महत्वपूर्ण माध्यम रहेको बताएका हुन् । बुधबार जिल्लाको मुसिकोट नगरपालिकाको वामीटक्सारमा मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले कृषि, उद्योग र पर्यटनका माध्यमबाट देशको आर्थिक विकास गरी गरिबी अन्त्य गर्न सकिने धारणा व्यक्त गरे । उनले मुलुकमा विद्यमान गरिबी र बेरोजगारी अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्ने बताए । अध्यक्ष तिमिल्सिनाले मुलुकमा गरिबी अन्त्य गर्ने र रोजगारीको अवसर सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । त्यसका लागि सरकारले आवश्यक जनशक्ति निर्माण हुने गरी योजना अगाडि सारेको उनले सुनाए । उनले भने, ‘मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा विशेष जोड दिन निजी संस्थाहरु क्रियाशिल हुनुपर्छ ।’

देशमा कृषि, पर्यटन र उद्योगको प्रसस्त संभावना रहेकाले तिनीहरुको उचित प्रयोग गरी व्यवसायिक रुपमा लाग्न निजी तथा सरकारी निकायहरुलाई अध्यक्ष तिमिल्सिनाले आग्रह गरे । गुल्मी जिल्ला कफी खेतीका लागि प्रख्यात रहेको भन्दै उनले कफीलाई ब्यवसायिकरण गरी विदेशमा समेत निर्यात गर्ने गरी उत्पादनलाई जोड दिनुपर्ने बताए ।

नेपालका सन्दर्भमा गरिबी र बेरोजगारी अत्यन्तै चुनौतीपूर्ण बन्दै गएकाले त्यसको अन्त्यका लागि आर्थिक समृद्धि हासिल गर्ने दिशामा सरकार र राजनितिकदलहरु एक हुनुपर्नेमा अध्यक्ष तिमिल्सेनाले जोड दिए । जिल्लामा रहेको धार्मिक एवं पर्यटकिय क्षेत्रको प्रचार–प्रसार, स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रहरु मुसिकोट दरवार, ग्वादीका चौरलाई धार्मिक एवं पर्यटकिय स्थलका रुपमा प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि महोत्सव महत्वपूर्ण रहने महोत्सव प्रचार–प्रसार संयोजक ज्ञानहरी सापकोटाले बताए । यस्तै स्थानीय स्तरमा रहेको मौलिक लोक संस्कृति, कफीको उद्गम स्थल जिल्लाको आँपचौरका विषयमा प्रचार–प्रसार गर्नका लागि महोत्सवले महत्वपूर्ण टेवा पुग्नेमा सापकोटाले विश्वास व्यक्त गरे ।

महोत्सवमा एक सय ५० स्टलहरु रहेका छन् । कृषि,शैक्षिक प्रर्दशनिका लागि निःशुल्क रुपमा स्टलको ब्यवस्था गरिएको मूल आयोजक समितिले जनाएको छ । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र पाँच करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिएको संघका अध्यक्ष सुर्दशन शाक्यले बताए । महोत्सवमा विद्यार्थीहरुका लागि ५० रुपैयाँ र अन्यका लागि ७० रुपैयाँको टिकटको ब्यवस्था गरिएको टिकट व्यवस्थापन समितिले जनाएको छ । महोत्सवलाई सफल पार्नका लागि २३ वटा उपसमितिहरु बनाइएको छ । महोत्सव माघ २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  २२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update