Shittalpati
पाल्पामा विदेशबाट फर्किएकालाई गाउँमै अवसर

कृष्ण पोखरेल/रामचन्द्र रायमाझी
पाल्पा । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि विदेशमा काम गरिरहेका पाल्पाका करिब ४ हजार युवा घर फर्किएका छन् । अहिले पाल्पाका १० वटै पालिकाको गाउँबस्तीमा विदेशको रोजगारी गुमाएर फर्किएका युवाहरुले भरिएका छन् । यी मध्ये अधिकाश भारतबाट फर्केका हुन्, भने १० प्रतिशत तेस्रो मुलुकबाट । तानसेन नगरपालिका र रम्भा गाउँपालिकाले विदेशबाट रोजगारी गुमाई फर्किने युवाहरुको लागि अनलाईन सर्भे फारम डिजाइन गरी पेशा र योग्यता बुझ्ने काम गर्दै आएका छन् ।

तानसेन नगरपालिकाले युवाहरुले आफैँ काम सिर्जना गर्न सकुन भनेर विना धितो सहुलियत ब्याजदरमा कर्जा दिन थालेको छ । यस्तो कर्जा लिनका लागि विदेशबाट फर्किएका युवाले गर्न चाहेको काम, योजना सहित नगरपालिकामा निवेदन दिनुपर्छ । त्यसका आधारमा नगरपालिकाले १० लाख रुपैयाँसम्म बिना धितो ऋणको लागि सिफारिस दिने गरेको छ । तानसेन नगरपालिकाले आफ्नै युवा स्वरोजगार कार्यक्रम मार्फत नेपाल बैक, युएनडिपी, ग्रामीण आर्थिक विकास संघ रेडाको त्रिपक्षिय सहकार्यमा नवउद्यमी युवाले स्वरोजगारका लागि विना धितो ऋण पाउँदै आएका छन् । गत आर्थिक वर्षमा तानसेन नगरपालिले यस कार्यक्रम मार्फत ५८ जनालाई २ करोड कर्जा दिएको छ । चालु आर्थिक बर्षमा ४ सय युवालाई ऋण दिएर रोजगारीमा लगाउने गरी नगरपालिकाले काम शुरु गरेको नगर प्रमुख अशोककुमार शाहीले बताए । नगरपालिकाले महिलालाई ३ प्रतिशत, पुरुषलाई ४ प्रतिशत व्याज दरमा कर्जा दिने गरेको छ । तानसेन नगरपालिकाले गर्दै आएको अनलाईन फर्ममा ३ हजार ५ सय प्रवासी युवा घर फर्कन चाहेका छन् । ती मध्ये १७ प्रतिशतपछि फेरि विदेश जान चाहेको, ४३ प्रतिशतले नेपालमै बसेर व्यापार व्यवसाय गर्न चाहेको, ३२ प्रतिशतले व्यवसायिक कृषि तथा पशुपालन र ८ प्रतिशतले नेपालमै आई सोंच विचार गर्ने मनसाय राखेका छन् । विदेशबाट फर्किएका युवाहरुको मागमा आधारित कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरेको नगर प्रमुख शाहीले बताए ।

नगरपालिकाले युएनडिपीको सहयोगमा ढाका कपडा, करुवा उत्पादनमा हेफर ईन्टरनेशनलको सहयोगमा पशुपालनमा रोजगारी बढाएको छ । विदेशबाट फर्किएका युवालाई तानसेनमै अड्याउन मासिक ३० देखि ४० हजार रुपैयाँसम्म कमाउने खालका व्यवसायमा लाग्न विभिन्न सहयोग गर्ने नीति नगरपालिकाले लिएको छ । रम्भा गाउँपालिकाले पनि यस वर्ष कम्तीमा ३ सय जना युवालाई स्वरोजगार उद्यमी बनाउने भएको छ । गाउँपालिकाले १ सय २५ जना युवालाई बिना धितो ५ प्रतिशत व्याजमा, एकजनालाई बढीमा ५ लाखका दरले कृषि ऋण प्रदान गर्ने छ । यसबाट १ सय २५ जना युवाले रोजगार प्राप्त गर्ने छन् । यसैगरी, विदेशबाट फर्किएका ५० जना युवालाई स्वदेशमै टिकाउन पशु तथा पंक्षीपालनमा लगाउने नीति पालिकाले लिएको छ । यस गाउँपालिकाले ५ वटा दुहुना भैसी पाल्नेलाई २ लाख, ५० वटा बाख्रा पाल्नेलाई एक लाख, १० वटा बंगुर पाल्नेलाई १ लाख, एक सय वटा लोकल कुखुरा पाल्नेलाई ५० हजार, ३ सय वटा बोयलर कुखुरा पाल्नेलाई ४० हजार अनुदान दिने कार्ययोजना स्वीकृत गरेको छ ।युवालाई तरकारी तथा रैथानेवालीमा सहभागी गराउन ३ रोपनी जग्गामा तरकारी वा रैथाने वाली लगाउने युवालाई ३० हजार रुपैयाँ अनुदान दिने कार्यक्रम गाउँपालिकाले स्वीकृत गरेको छ । यस कार्यक्रम अन्तर्गत ५० जनासम्मलाई अनुदान दिइने छ । यस्तैगरी ५० जना युवायुवतीलाई उनीहरुले चाहेका विषयमा निःशुल्क तालिम दिने र आफुले सिकेको सिप प्रयोग गरी व्यबसाय गर्न चाहनेलाई प्रति व्यक्ति ५० हजारसम्म अनुदान दिने, उनीहरुले उत्पादन गरेका बस्तु गाउँपालिकाले खरिद गरी पालिका भित्रै खपत गराउने, बढी भएमा अन्यत्र विक्री गर्ने कार्यक्रम पारित भएको छ । यसैगरी २० जना युवालाई फलफूल तथा नर्सरी व्यवस्थापनमा रोजगार बनाउने गाउँपालिकाको योजना रहेको छ । यसका लागि, गाउँपालिकाले २० जना युवालाई नर्सरी व्यवस्थापन तालिम दिने, उनीहरुलाई सबै किसिमका फलफूलहरुको नर्सरी बनाउन लगाउने, नर्सरीमा उत्पादित विरुवा गाउँपालिकाले खरिद गर्ने र पालिका भरी वितरण गर्ने, नर्सरीका विरुवा लगाउन नर्सरी व्यवस्थापकलाई परिचालन गर्ने र यी काममा अनुदान दिने व्यवस्था भएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए । सार्वजनिक जग्गा र सामुदायिक वनमा कागती, अमिलो, लिची र आँपका विरुवा लगाउने कार्यक्रम यस गाउँपालिकाले ल्याएको छ ।रिब्दीकोट गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रमका लागि मात्र कृषि तथा पशुपालन क्षेत्रमा ४ करोड ५७ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले कम्तिमा ५ वटा दुहुना भैसी भएका ६ वटा फार्मलाई दुई/दुई लाखको दरले, १० वटा बंगुर भएका ४ वटा फार्मको लागि एक/एक लाखका दरले, ५० वटा बाख्रा भएका ४ वटा फार्मका लागि एक/एक लाखका दरले, ३ सय बोइलर कुखुरा भएका ३ वटा फर्मको लागि ४० हजारका दरले नगद अनुदान दिने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । युवालाई आवश्यक कृषि औजार लिन सजिलो बनाउन गाउँपालिकाले २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । रैथानेवाली प्रवद्र्धन तथा विक्री वितरणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

दूध, टमाटर, कागती र सुन्तला उत्पादन गर्ने कृषकलाई अनुदान वितरण गर्न यस गाउँपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेको छ । शितभण्डार बनाउन एक करोड बजेट विनियोजन गरेको छ । गाउँपालिको सुन्तला खेतीका लागि ३१ लाख र सिचाईका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले रिब्दीकोटलाई सुन्तला क्षेत्र बनाउने अभियान शुरु गरेको छ । गाउँपालिकाले वडा १ ख्याहामा ढु·ा उद्योग, वडा ५ मा पाउरोटी उद्योग र वडा ३ खस्यौलीमा पशु दाना उद्योग सञ्चालन गर्न २२ लाख रुपैयाँ बजेट छुट्याएको छ । उत्पादित बस्तुलाई सहकारी मार्फत बजार व्यवस्थापन गर्न २० लाख र सबै वडामा आवश्यकता अनुसार रोजगारी प्रदान गर्नका लागि एक करोड १२ लाख रुपैयाँ रहेको पालिकाले जनाएको छ ।तिनाउँ गाउँपालिकाका ३ सय ५० जना युवा स्वदेश तथा विदेशबाट रोजगारी गुमाएर घर फर्किएका छन् । यीमध्ये ८० जनालाई गाउँमै रोजगारी दिने सीपको तालिम प्रदान गर्ने र उनीहरुलाई व्यवसाय गर्न आवश्यक कर्जाका लागि वित्तीय संस्थासंग समन्वय गर्ने, बाख्रा तथा बंगुरपालनमा युवालाई प्रोत्साहन गर्न १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको, गाउँपालिकालाई कागती उत्पादनको पकेट क्षेत्र बनाउन कम्तीमा २० हजार कागती विरुवा अनुदानमा वितरण गरिएको, ठूला पूर्वाधारका काम बाहेक पालिका भित्रका ज्याला मजदुरी गर्नेको संख्या यकिन गरी उनीहरुलाई गाउँपालिकाको पूर्वाधार विकासका काममा लगाउन काम अगाडि बढाएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पाल्पाका दश वटै पालिकाहरुले विदेशबाट फर्किएर गाउँमा बस्छु, गाउँमै काम गर्छु भन्ने युवाहरुलाईका लागि अवसरै अवसर सिर्जना गरिदिएका छन् ।

पाल्पाका दश वटै पालिकाहरुले यसवर्ष कृषि तथा पशुपालन क्षेत्रमा अत्याधिक बजेट विनियोजन गरेका छन् । जिल्लाका रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका बगनासकाली गाउँपालिकाले २ वर्षदेखि बाँझो रहेको जमिनमा पुनः खेती गर्ने कृषकका लागि प्रतिरोपनी ५ हजारसम्म अनुदान दिने व्यवस्था गरेका छन् । पालिकाहरुले कार्यविधी नै बनाएर बाँझो जमिनको व्यवस्थापन तथा भूमी बैकहरुको स्थापना गरी जमिन नभएका व्यक्तिहरुलाई जमिन उपलब्ध गराई खेतीपातीको व्यबस्था समेत शुरु गरेका छन् । जिल्लाका पालिकाहरुले कोभिड १९ को कारण विदेशबाट गाउँघर फर्किएका युवाहरुलाई कृषि तथा पशुपालनमा बजेट केन्द्रित गरेको देखिए पनि त्यसलाई कार्यान्वयन गर्न युवाहरुको पनि उत्तिकै भूमिका रहने छ । नीति तथा बजेट सही रुपमा कार्यान्वयन गर्न अहिलेदेखि प्रक्रिया शुरु गर्दै जानुपर्ने हुन्छ । पाल्पाका पालिकाहरुले लोकप्रिय युवा कृषि कार्यक्रम कागजमै मात्र सिमित रहने हो की व्यवहारतः कार्यान्वयनमा आउने हो भन्ने कुरा अबको एक बर्ष प्रतिक्षा गर्नु पर्नेछ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update