Shittalpati
निषेधाज्ञाले रोकिएन सडक निर्माणको काम, तानसेन–बुटवल सडक मर्मत गरिदै

कृष्ण पोखरेल
पाल्पा । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु ठप्प भइरहेको बेला सडक निर्माणको काम भने रोकिएको छैन । निषेधज्ञाको सदुपयोग गरी डिभिजन सडक कार्यालय पाल्पाले भने सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डमा परेका खाल्टाखुल्टी पुरी कालोपत्रे गर्ने कार्यलाई तिव्रता दिएको छ । अत्याधिक बाढी पहिरोको कारण सिद्धार्थ राजमार्गको यस सडकमा सवारी साधन चलाउन समेत कठिन भईरहेको समयमा डिभिजन सडक कार्यालयले सडक सरसफाई गर्दै खाल्टा खुल्टी पिच गर्ने कार्य अगाडि बढाएको छ । डिभिजन सडक कार्यालयले इमल्सन प्याच कोल्ड मिक्क प्रविधिबाट तानसेनको गौरीशंकर क्षेत्रदेखी झुम्सा दोभान क्षेत्रसम्मको सडकका बिचमा परेका खाल्टाखुल्टी कालोपत्रे गर्ने काम थालेको हो ।

सिमसिम पानीको साथै केही चिसो क्षेत्रमा समेत खाल्टा खुल्टीमा पिच गर्न सकिने प्रविधि भएकाले निषेधाज्ञाको मौका छोपेर कार्यालयले आफ्नै जनशक्ति उपकरण, लेन्थवर्कर र कर्मचारीको सहयोगमा धमाधाम काम गर्दै आएको छ । ठेक्का प्रक्रियाबाट खाल्टा खुल्टी पुर्न समय लाग्ने भएकाले सवारी साधन नचलेको मौका छोपेर आफ्नै जनशक्तिबाट काम थालिएको डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्दराज अधिकारीले बताए । समयमै बिच सडकका खाल्टा खुल्टी बनाउँदा सडक टिकाउ हुने, कम क्षतिमा मर्मत कार्य गर्न सकिने, सवारी साधन चलाउन सहज हुने, सवारी साधन कम मात्रामा बिग्रने भएकाले इमल्सन प्याच कोल्ड मिक्क प्रविधिबाट सडकमा खाल्टा खुल्टी टाल्न थालिएको कार्यालयले जनाएको छ । इमल्सन, इन्धन, अन्य सामग्रीहरु सहित करिब १५ देखी १७ लाख रुपैयाँसम्म तानसेन देखी दोभान क्षेत्रसम्म काम सम्पन्न गर्न सकिने छ । अलकत्रमा पकाएर गर्न भन्दा सहज र एक घण्टा भित्रै सेट हुने भएकाले सडकका स–साना खाल्टाहरुका लागि निकै उपयोगी रहेको इन्जिनियर रामबिहारी चौधरीले बताए । सडकको खाल्टामा बेस राखेर रोलिङ्ग गरेपछि १० एम.एम भन्दा सानो चिप्सलाई इमल्सन घोलेर बिच्छाउने र रोलिङ्ग गरेपछि सेट हुने गर्दछ । बेस माथि करिब ३ सेन्टिमिटर बराबरको कालोपत्रे बिच्छाइएको छ । पाल्पामा २ वर्ष अगाडि ड्रम इमल्सनको काम भएको थियो । कम जनशक्तिबाट चिसो स्थान तथा चाँडो काम सक्नुपर्ने तथा स–साना परिमाणका लागि अति उत्तम रहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update