Shittalpati
मौरीपालन गरेको वर्षौ बितिसक्दा पनि जानेनन् उचाईले आधुनिक तरिका

भुवन रायमाझी
पाल्पा, जिल्लाको तिनाउ गाउँँपालिका ओखलढुङ्गामा व्यावसायिक मौरी पालेर मनग्य आम्दानी गरेका नरबहादुर उचाई मगरले मौरीपालन सुरु गरेको वर्षौ बित्यो तर पनि उनी आधुनिक तरिकाबाट मौरी पालन गर्ने तरिका बारे अझै बेखबर छन् । उनी जस्तै अन्य किसानलाई पनि आधुनिक प्रविधि बारे तालिम लिन आवश्यक देखिएको छ । तिनाउ गाउँपालिका भित्रको विकट गाउँ ओखलढुङ्गाको गौउबास । त्यही गाउँमा २० वर्षबाट निरन्तर मौरी पालेर जीवन चलाएका नरबहादुर उचाई मगरलाई अझैसम्म आधुनिक मौरी पालन पेशा थाहा छैन । घरबारी र पखेरामा समेत परम्परागत रुपमा मौरी पालेका उचाईसँग अहिले १ सय ८० देखि २ सय ५० सम्म मुढेघारमा मौरी रहेको उचाईले बताए ।

केही समय अगाडि परम्परागत रुपमा गरिदै आएको मौरीपालन पेशा आजभोलि व्यावसायिक तिर अगाडि बढेको पाइन्छ । मौरी पालेर आफ्नो जीवन प्रगतितिर बढिरहेको बताउने पश्चिम पाल्पाका उचाई मगर स्वदेशमै बसेर मनग्य आम्दानी मह बेचेर गरेको बताए । आधुनिक तरिकाले मौरीपालन गर्न नजानेका नरबहादुरले आफैले गाउँ ठाउँमा पाइने मुडे घारमा मौरी पालन गर्दै आएको बताउँछन् । उचाईको घरमा दैनिकजसो मह किन्ने व्यापारी पुग्ने गर्छन् उनले घरमा पुगेका व्यापारीलाई मुढे घारबाट मौरी काढेर खान दिन्छन् अनि आफ्नो मौरीपालन पेशा अरुलाई सुनाउने गर्छन् ।

उनले यो पेशा दिर्घकालिन रुपमा राम्रो हुने भएकोले उनी यसै पेशालाई अंगाली अगाडि बढेको बताउँछन् । आजभोलि विदेशिने होडबाजी नै चलेको छ स्वदेशमा बसेर केही गरौं भन्ने मानिस कमै छन् । तर गर्नेहरु पनि स्वदेशमा उदाहरणीय छन् । पाँच कक्षा मात्र पढेका नरबहादुर मौरीपालन गरेर उत्पादन भएको मह बेचेर ९ जनाको परिवार पालेको बताउँछन् । उनलाई मौरीमा कुनै रोग लागेर मरे पनि उपचार गर्ने कुनै ज्ञान छैन । उनी भन्छन् ‘आधुनिक तरिकाबाट मौरी पाल्न पाए अझ बढी राम्रो आम्दानी हुने थियो ।

मैले जस्तै मौरी पालेर घर चलाउने धेरै छन् तर कुनै संघ संस्था, कृषि सेवा केन्द्र, जिल्ला कृषि विकास कार्यालयबाट आजसम्म न तालिम पाएकाछौं, नत प्राविधिक सहयोग नै त्यसैले उनी राज्यप्रति सन्तुष्ट नभएको बताउँछन् ।’ तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरलाई उनको गुनासो सुनाउँदा उनले अब अनुदान र आधुनिक तरिकाले मौरीपालन गर्ने तालिम दिने तयारीमा भएको बताए । नरबहादुरले उत्पादन गरेको महमा कुनै मिसावट नहुने हुँदा पनि उनको मह बढी विक्री हुने उपभोक्ताको भनाइ रहेको छ । महको अहिले बजारभाउ ७ सय प्रति केजी रुपैयाँ पर्छ मह औषधीको रुपमा
समेत प्रयोग हुने हँुदा बढी प्रयोग गरेको पाइन्छ ।

मह दम, रुघाखोकी, ढाड दुखेको सन्चो हुने जनविश्वास रहेको छ धार्मिक दृष्टिकोणले पनि मह नभई नहुने तत्व पनि हो । उनले उत्पादन गरेको मह जिल्लाको विभिन्न स्थान तथा बुटवल बजारसम्म लैजाने गर्छन् नरबहादुर बाजेको मह भने पछि सबै खोजी खोजी किन्ने गरेको उनी बताउँछन् उनी जस्तै स्वदेशमै पौरख गर्ने हो भने विदेशीभूमी तिर भौतारिन पर्ने थिएन ।

प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update