Shittalpati
भारतमा मृतकको संख्या ५० हजार नजिक

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या ४९ हजार ९ सय ८० पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक एक हजारको हाराहारीमा भारतमा कोरोनाका कारण मानवीय क्षति हुँदै आएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ९ सय ४४ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा कोरोनाबाट सोही अवधिमा एकैदिनमा ६३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्ला केही दिनदेखि दैनिक ६० हजारभन्दा बढीको संख्यामा भारतमा संक्रमितहरु थपिदै आएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ४ सय ८९ जना संक्रमित भएका हुन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २५ लाख ८९ हजार ६ सय ८२ रहेको छ । ती मध्ये छ लाख ७७ हजार ४ सय ४४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु १८ लाख ६२ हजार २ सय ५८ जना संक्रमणमुक्त भइसकेका छन् । कुल संक्रमित मध्ये दुई प्रतिशतभन्दा कमको मात्रै कोरोनाका कारण मृत्यु भएको पाइएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update