Shittalpati
गुल्मीमा पहिरो : एकै घरका चार जनाको ज्यान गयो

रामचन्द्र रायमाझी
पाल्पा । गुल्मीको रुरु क्षेत्रमा पहिरोमा परी एकै घरका चार जनाको ज्यान गएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ५ आँटीपाटा भोटे गाउँमा शुक्रबार साँझ गएको पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको हो । घर माथिबाट ढुङ्गा सहितको पहिरोले घर च्यापिदा राजु बोटे माझीको श्रीमती दुई छोरा र एक छोरीको ज्यान गएको हो । घर माथिबाट खनेको मोटरबाटोका कारण अविरल वर्षा सहितको पानीले ठूलो ढुङ्गा सहित पहिरो खसेर माझीको घर पुरिएको थियो । साँझ ७ः४५ बजेको समयमा खाना खाएर सुत्ने तरखर गरिरहेको बेला एक्कासी माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले घर च्याप्दा राजुको श्रीमती ३० वर्षकी बिना बोटे माझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) केदारराज पन्थले बताए । उनका अनुसार घर माथिबाट ठूलो ढुङ्गा सहितको पहिरो खसेर घर च्यापिएको हो । घर पूर्णरुपमा क्षति भएको छ । राजु वैदेशिक रोजगारको शिलशीलामा भारतमा रहेका छन् । उनको घरमा तीन छोराछोरी र एक श्रीमती बस्दै आएका थिए । मृतक चारै जनाको शनिबार जिल्ला अस्पतालमा पोष्टमार्ट पछि आफन्तलाई शव बुझाइएको डिएसपी पन्थले बताए ।

घटनास्थल सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटर पूर्वमा पर्छ । पहिरोले घर पुरिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय रिडी, जोहा·बाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पन्तले बताए । घरभित्र रहेका बेला एक्कासी घर भन्दा २ सय मिटर माथिबाट खसेको ढुङ्गा सहितको पहिरोले बगाउँदा उनीहरु भाग्न नसक्दा त्यही ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले बताए । उनले भने ‘पहिरो ठूलै भएकाले उनीहरुको उद्दारमा कठिनाई भएको थियो । जथाभावी मोटरबाटो लैजाने नाममा यस्तो समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् ।

केही दिन अघि पहिरोका कारण जिल्लाको इस्मा गाउँपालिका १ मल्दीमा १८ महिने बच्चा सहित दुई जनाको ज्यान जाने गरी भएको घटना सेलाउन नपाउँदै पुन एकै घरका चार जनाको ज्यान जाने गरी भएको घटनाले जिल्लावासीलाई स्तब्ध बनाएको छ । जिल्लावासी यी दुई घटनाले गर्दा त्रसित बनेका छन् । प्राकृतिक विपद्का घटनाबाट नागरिकले ज्यान मात्र गुमाएका छैनन् दर्जनौं घर जोखिममा परेका छन् । विपद् सम्बन्धी पूर्वतयारी र यसको दीर्घकालीन उपाय नखोजिदा वर्षेनि यहाँ विपद्बाट जनधनको ठूलो क्षति हुने गरेको छ । वर्षा लागेसंगै जिल्लामा पहिरोको जोखिम बढेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update