Shittalpati
पहिरोका कारण ६ घर परिवार विस्थापित

गुल्मी । अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँच वटा घरमा क्षति पुगेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङ्मा मंगलबार बिहान खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिदिएको हो । पहिरोका कारण सोही ठाउँका हर्कबहादुर दमाई, जयबहादुर दमाई र टिके दमाईको घर र गोठ समेत भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

त्यसैगरी पहिरोका कारण चन्द्रकोट गाउँपालिका अन्तर्गत उपल्लो तुराङमा सोभाखर सुनार र उनकी साहिली बुहारीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । पहिरोले घरमा क्षति पुगेपछि ६ घर परिवारका २९ जना व्यक्ति विस्थापित भएका छन् । पहिरोका कारण विस्थापित परिवारले यतिबेला स्थानीय जनता बाल निकेतन माध्यमिक विद्यालयमा आश्रय लिन बाध्य भएका छन् । –रासस

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update