Shittalpati
यात्रु नहुँदा पर्याप्त गाडी गुडेनन्

रामचन्द्र रायमाझी/कृष्ण पोखरेल
पाल्पा । जिल्लामा साउन ८ गतेदेखि सार्वजनिक यातायातका साधन सञ्चालनमा त आए, तर, यात्रु नपाउँदा व्यावसायीले बिचमै सेवा रोकेर गाडी नै ग्यारेजमा थन्काउनु परेको छ । कोरोना संक्रमणको चार महिने लकडाउनपछि सार्वजनिक यातायात चल्न थालेपनि ती सवारीले पर्याप्त यात्रु पाउन सकेनन् । यात्रु नपाउँदा धेरै यातायात व्यावसायीहरुले गाडी सञ्चालन गर्न सकिरहेका छैनन् । सदरमुकामबाट पालिका जोड्ने, पालिकाबाट वडा–वडामा जोड्ने सवारी साधन सञ्चालनमा आएपनि यात्रुहरु भने पर्याप्त नभएको सवारी धनीहरुले गुनासो गरेका छन् । सरकारले सिट क्षमताको आधा बोक्ने नियम ल्याएपनि सवारी साधनमा आधापनि यात्रुहरु नभएको सवारी धनीहरुको गुनासो छ । कोभिड १९ को जोखिम कायमै रहेको, वर्षायाम भएको, बाटोघाटो अत्याधिक बिग्रिएका कारण यात्रुहरु जोखिम मोलेर यात्रामा निस्कन नसकेको र निस्किएका केही यात्रुहरु निजी गाडीहरुले नै लैजाने गरेकाले सार्वजनिक सवारी साधनहरु पूर्ण रुपमा सञ्चालनमा नआएका हुन् ।

विगतमा जिल्लामा नियमित गुड्ने गाडीहरु मध्ये अहिले १० प्रतिशमात्र गुड्ने गरेका छन् । जिल्लामा केही गाडी सञ्चालनमा आए पनि यात्रु अभाव भएको श्रीनगर यातायात सेवा कम्पनी प्रालिका प्रवन्ध निर्देशक भविन्द्र गौतमले बताए । उनले भने ‘सरकारले निजी गाडीहरुलाई काठमाडौं लगायत लामो दुरीमा जानका लागि सिफारिस दिने तर सार्वजनिक यातायातलाई भने नदिने गरेकाले गाडी कम गुड्ने गरेका छन् ।’ श्रीनगर यातायात मार्फत सञ्चालन हुने २० प्रतिशत गाडी मात्र सञ्चालनमा आएको उनले बताए । सरकारले सार्वजनिक यातायातका साधन चलाउन दिए पनि सिमित स्थान र यात्रु मात्र बोक्न पाइने नियम लगाएको छ । सम्बन्धित जिल्लामा मात्र एउटा सिट खाली राखेर यात्रु चढाउनुपर्छ । जसले गर्दा पनि सार्वजनिक सवारी भने कमै चलेका हुन् ।

सरकारले लकडाउन हटाएसँगै जिल्लाका सडकमा निजी सवारीको तुलनामा सार्वजनिक सवारी साधनको चाप कम देखिएको छ, भने मान्छेको चहल–पहल बढेको छ । सार्वजनिक यातायात राख्ने तानसेन बसपार्क सुनसान जस्तै देखिन्छ । केही बस मात्र सडकमा गुडेका छन् । ती गाडीमा यात्रु पनि फाट्टफुट्ट मात्र देखिन्छ । तानसेन–बुटवलसम्म बस सञ्चालन गर्न नपाउँदा पर्याप्त मात्रामा यात्रु नपाएको श्रीनगर यातायात सेवा कम्पनी प्रालिका महासचिव जगत बरालले बताए । पाल्पाको तानसेन, रामपुर, हार्थाेक छहरा तथा पालिकाका केन्द्रहरुको बजार क्षेत्रमा यात्रु नहुँदा न्यून संख्यामा सवारी साधन सञ्चालनमा आएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ प्रदेश पाँचका संयोजक डिलबहादुर ढुङ्गानाले जानकारी दिए । उनले सवारी साधनमा यात्रा गर्दा माक्स अनिवार्य रुपमा लगाएको हुनुपर्ने, साथमा सेनिटाइजर हुनुपर्ने, चालक तथा सहचालकको पनि माक्स पञ्जा अनिवार्य लगाएको हुनुपर्ने, सिट संख्याको आधा मात्र यात्रु चढाएको हुनुपर्ने नियम अनिवार्य पालना गर्नुपर्ने बताए ।

यात्रु नहुँदा चार–छ जना मात्रै बोकेर हिँड्ने गरेको तानसेन–बुटवल सञ्चालन हुने बसका चालक दिपक बस्यालले सुनाए । उनले चार महिनापछि आइतबार पहिलो पटक गाडी लिएर सडकमा निस्किएको बताए । चार–छ जना यात्रु लिएर हिडेको उनको गाडी फर्किने बेला खाली थियो । यात्रु भए नि धेरै हाल्न नपाइने भएकाले चिन्ता लागेको उनले सुनाए । आइतबार यात्रु लिएर बुटवल हिडेका उनी फर्कदा दोभानमा प्रहरीले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भन्दै रोकेको उनले सुनाए । ‘एक त यात्रु पाइदैन पाइए पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाईने’, उनले भने ‘एक सिट खाली गरेर राख्नुपर्छ । तेल खर्च उठाएर खाना खान पुर्‍याउन मुस्किल छ ।’ जिल्लाका ग्रामीण भेगमा चल्ने अधिकांश सवारी साधन शेर्पा, बलेरो, महेन्द्रा जिप भएकाले १ मिटरको दुरीमा यात्रुहरु राख्न नसकिएपनि आधा संख्यामा सक्दो दुरी कायम गरी सवारी साधन चलाउने गरिएको जिल्लाका यायायात समितिले जनाएका छन् । पाल्पामा पश्चिम नेपाल बस व्यवसायी प्रालि, श्रीनगर यातायात, रामपुर यातायातले सेवा दिदै आएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update